नेपालमा लगानी र आर्थिक सहकार्य बढाउन स्पेनीस व्यवसायीहरुलाई महासंघ अध्यक्ष ढकालको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालमा लगानी र आर्थिक सहकार्य बढाउन स्पेनीस व्यवसायीहरुलाई महासंघ अध्यक्ष ढकालको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र स्पेनबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने र लगानी सहकार्यलाई थप विस्तार गर्न स्पेनिस व्यवसायीहरुलाई आग्रह गरेका छन् । बुधबार स्पेनको म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका थुप्रै सम्भावना रहेको भन्दै स्पेनी व्यवसायीहरूलाई लगानीका लागि आग्रह गरेका हुन् ।

स्पेन वाणिज्य तथा उद्योग महासंघका सदस्यहरू, व्यापारीक समुदायका अगुवाहरू, नेपाली समुदायका प्रतिनिधिहरू र कूटनीतिक व्यक्तित्वहरू सहभागी कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा दुई देशबीच सहकार्यको बलियो सम्भावना रहेको धारणा राखे ।

नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा पर्यटन उद्योग रहेको चर्चा गर्दै अध्यक्ष ढकालले सगरमाथादेखि लिएर भगवान बुद्धको जन्मस्थल लुम्बिनीसम्मका स्थलहरूको विशेष धार्मिक, सांस्कृतिक र प्राकृतिक आकर्षण रहेको बताए । उनले गुणस्तरीय सेवा र पूर्वाधारमा लगानी गर्न सके नेपालले विश्वभरका पर्यटकहरूलाई थप आकर्षित गर्न सक्ने विश्वास व्यक्त गरे ।

साथै उनले नेपालमा लगानीमैत्री वातावरण निर्माण भएको, सरकारले लगानी र कम्पनी दर्तासम्बन्धी प्रक्रिया सहज बनाउन ‘वान–स्टप सर्भिस सेन्टर’ स्थापना गरिसकेको, राष्ट्रिय बजेटले ऊर्जा, कृषि, सूचना प्रविधि, निर्माण र डिजिटल नवप्रवर्तनजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै कर छुट र व्यापार नियमहरू सजिलो बनाएको उल्लेख गरे ।

“नेपालमा व्यवसाय गर्न सजिलो, छिटो र पारदर्शी बनाउने हाम्रो उद्देश्य हो । लगानीको लागि नीतिगत सुधारहरूका लागि महासंघले सरकारसंग निरन्तर पहल ग-यो । उनले भने, ‘फलस्वरुप लगानीमैत्री वातावरण बनाउन ३० भन्दा बढी व्यापारसम्बन्धी कानूनहरू संशोधन भएका छन् । जसले नेपालमा लगानीको लागी सहज वातावरण बनेको छ ।”

प्रकाशित : 3 July, 2025 12:09 pm