निर्जीवन बीमामा ३९ अर्बको व्यापार, कसले कति भित्र्याए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निर्जीवन बीमामा ३९ अर्बको व्यापार, कसले कति भित्र्याए ?



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले ३९ अर्ब ३ करोड ८८ लाख रुपैयाँभन्दा बढीको बीमा शुल्क आर्जन गरेका छन्। बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरूले २५ लाख ८७ हजार ३१५ वटा बीमालेख जारी गर्दै सो बराबरको कुल बीमा शुल्क आर्जन गरेका हुन्।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म २६ लाख ८ हजार ७९२ वटा बीमालेखबाट ३६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरिएको थियो। तथ्यांकअनुसार यो वर्षको ११ महिनामा निर्जीवन बीमा कम्पनीहरूको व्यापार अघिल्लो वर्षको तुलनामा ७.४४ प्रतिशतले वृद्धि भएको छ।

बीमालेखको सङ्ख्यामा भने अघिल्लो वर्षको तुलनामा थोरै घटोत्तरी देखिएको छ। गत वर्षको तुलनामा चालु वर्षमा करिब २२ हजार बीमालेख कम जारी भएका छन्। यसले बीमा शुल्क आर्जनमा सुधार देखिए पनि बीमा पहुँच विस्तारको हिसाबले कम्पनीहरूलाई अझ चुनौतीपूर्ण अवस्था देखाएको संकेत दिएको छ।

११ महिनासम्ममा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीले यस अवधिसम्ममा ५ अर्ब ९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब ८९ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

दोस्रोमा सगरमाथा लुम्बिनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ५० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधसिम्म कम्पनीले ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

तेस्रोमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ९० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

चौथौमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ५१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

यसैगरी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ३९ करोड ३७ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ७४ करोड ३३ लाख रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ४२ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

चालु आर्थिक वर्षको जेठसम्म युनाइटेड अजोडले २ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ, सानिमा जीआईसीले २ अर्ब ३६ करोड ३ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ८४ करोड ४२ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १ अर्ब ५७ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

समीक्षा अवधिसम्म राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३१ करोड ५० लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ९७ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रकाशित : 26 June, 2025 6:27 pm