काठमाडौं । विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा कुल विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको हो।
२०८१ असारसम्ममा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो। १० महिनाको अवधिमा २३.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति वैशाखसम्ममा २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ । जबकी गत असारमा १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको थियो।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १९.६ प्रतिशतले वृद्धि भई २२ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । गत २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेको थियो।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ वैशाख मसान्तमा ५६.८ प्रतिशतले वृद्धि भई ३ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ। २०८२ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०८१/८२ को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
२०८२ वैशाखमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४१.१ प्रतिशत, १२१.४ प्रतिशत र ३३.८ प्रतिशत रहेका छन्। २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए।
Comment