उपभोक्ता मुद्रास्फीति घटेर २.७७ प्रतिशतमा सीमित, थोक मुद्रास्फीतिमा पनि गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

उपभोक्ता मुद्रास्फीति घटेर २.७७ प्रतिशतमा सीमित, थोक मुद्रास्फीतिमा पनि गिरावट



काठमाडौं । वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही महिनामा यो दर ४.४० प्रतिशत थियो ।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत मात्र रहेको छ। जुन अघिल्लो वर्षको ६.४१ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा घटेको हो । त्यसैगरी, गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत मापन गरिएको छ, जुन अघिल्लो वर्ष ३.०९ प्रतिशत थियो ।

बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहभित्र घ्यू तथा तेल उप–समूहको मूल्य सर्वाधिक ११.०८ प्रतिशतले बढेको छ । फलफूल ६.१५ प्रतिशत, दाल तथा गेडागुडी ५.१७ प्रतिशत, र गैर–मदिराजन्य पेय पदार्थ ४.७० प्रतिशतले वृद्धि भएका छन् । तरकारी उप–समूहको मूल्य ८.११ प्रतिशतले घटेको छ भने मरमसला २.२० प्रतिशत र माछा-मासु ०.४८ प्रतिशतले सस्तिएको छ।

गैर–खाद्य तथा सेवा समूहतर्फ विविध वस्तु तथा सेवा उप–समूहमा ९.०४ प्रतिशतको वृद्धि देखिएको छ । शिक्षामा ५.८८ प्रतिशत, कपडा तथा जुत्ताचप्पलमा ५.२३ प्रतिशत, फर्निचर तथा घरायसी उपकरणमा ३.९९ प्रतिशत र रेष्टुरेन्ट तथा आवास सेवामा ३.१६ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

क्षेत्रगत रूपमा हेर्दा, ग्रामीण क्षेत्रमा उपभोक्ता मुद्रास्फीति ३.२१ प्रतिशत पुगेको छ भने शहरी क्षेत्रमा २.६१ प्रतिशत मापन गरिएको छ । यसले देखाउँछ कि ग्रामीण क्षेत्रमा मूल्यवृद्धिको प्रभाव केही बढी रहेको छ ।

प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ४.२९ प्रतिशत मुद्रास्फीति देखिएको छ । त्यसपछिका स्थानहरूमा सुदूरपश्चिम ३.१४ प्रतिशत, मधेश २.८१ प्रतिशत, बागमती २.४० प्रतिशत, गण्डकी २.२३ प्रतिशत, कर्णाली २.२१ प्रतिशत र लुम्बिनी प्रदेशमा सबैभन्दा कम २.१५ प्रतिशत मुद्रास्फीति मापन गरिएको छ ।

भौगोलिक क्षेत्रअनुसार काठमाडौं उपत्यकाको मुद्रास्फीति २.६४ प्रतिशत रहेको छ। तराई, पहाड र हिमाल क्षेत्रको मुद्रास्फीति क्रमशः २.६४, २.६५ र ४.०१ प्रतिशत रहेको छ । हिमाली क्षेत्रमा उच्च मुद्रास्फीति देखिनु त्यहाँको आपूर्ति चुनौतीसँग जोडिएको देखिन्छ।

थोक मूल्य सूचकाङ्कअनुसार वैशाख महिनाको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.९५ प्रतिशत मापन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो दर ५.६८ प्रतिशत थियो । यसले थोक बजारमा पनि महँगीको चाप घट्दै गएको संकेत गरेको छ ।

थोक उपभोग्य वस्तुहरूको मुद्रास्फीति १०.८९ प्रतिशतले बढेको छ । मध्यवर्ती वस्तुमा ०.१० प्रतिशत र पुँजीगत वस्तुमा २.७३ प्रतिशतको थोक मुद्रास्फीति देखिएको छ । त्यसैगरी, निर्माण सामग्री समूहमा २.६७ प्रतिशतको मूल्यवृद्धि मापन गरिएको बैंकले जनाएको छ ।

प्रकाशित : 10 June, 2025 12:06 pm