जीवन बीमा कम्पनीको व्यवसाय १४.८४ प्रतिशतले बढ्यो, सबै कम्पनीको कारोबारमा सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

जीवन बीमा कम्पनीको व्यवसाय १४.८४ प्रतिशतले बढ्यो, सबै कम्पनीको कारोबारमा सुधार



काठमाडौं। देशभरका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको १० महिनामा उल्लेख्य प्रगति गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीहरूले बीमाशुल्क आर्जनमा १४.८४ प्रतिशतको वृद्धि गरेका हुन्।

चालु आवको उक्त अवधिमा जीवन बीमकहरूले कुल १ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्, जुन अघिल्लो आवको सोही अवधिको १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो। वैशाख महिनासम्म सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ रहेको छ ।

कम्पनीले सो अवधिसम्म ३६ अर्ब ५९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो जीवन बीमकहरुको कुल व्यवसायको २६.२५ प्रतिशत रकम हो। नेपाल लाइफको व्यवसाय गत आवको तुलनामा १३ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, नेशनल लाइफले १७ अर्ब २० करोड, एलआइसी नेपालले १५ अर्ब ५७ करोड, हिमालयन लाइफले १३ अर्ब ७९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ६७ करोड, सूर्यज्योति लाइफले ८ अर्ब ५३ करोड, एशियन लाइफले ७ अर्ब १४ करोड, सिटिजन लाइफले ५ अर्ब ६८ करोड, सानिमा रिलायन्स लाइफले ५ अर्ब ३३ करोड, मेट लाइफले ४ अर्ब ९८ करोड, आइएमई लाइफले ४ अर्ब १९ करोड, रिलायबल नेपाल लाइफले ४ अर्ब १४ करोड, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १० करोड, सन नेपाल लाइफले ३ अर्ब ४१ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

सबैभन्दा बढी व्यवसाय वृद्धिदर

गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय ग्रोथ गर्ने कम्पनीमा भने राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीको व्यवसाय ५०.३६ प्रतिशत बृद्धि भएको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफको २३.९१ प्रतिशत, सिटिजन लाइफको २०.८३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २०.०९ प्रतिशत, नेशनल लाइफको २०.०३ प्रतिशत, सूर्यज्योति लाइफको १२.२७ प्रतिशत, आइएमई लाइफको १४.८० प्रतिशत, सानिमा रिलायन्स लाइफको १३.७१ प्रतिशत, नेपाल लाइफको १३ प्रतिशत, एशियन लाइफको ११.८० प्रतिशत, सन नेपाल लाइफको १०.७३ प्रतिशत, एलआइसी नेपालको ९.४० प्रतिशत, मेट लाइफको ९ प्रतिशत र हिमालयन लाइफको २.१० प्रतिशतले बृद्धि भएको छ ।

प्रकाशित : 3 June, 2025 12:09 pm