बजेटले विगतका कमजोरी दोहोर्याउने छैन : अर्थमन्त्री पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

बजेटले विगतका कमजोरी दोहोर्याउने छैन : अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट यथार्थपरक भएको बताउँदै यसले जनताको चाहना र राष्ट्रको आवश्यकता दुबैलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन्।

बुधबार संसद्मा बजेट प्रस्तुत गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले भने, “स्रोत व्यवस्थापनको सीमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएका छौं।”

उनका अनुसार यो बजेटले वित्तीय अनुशासन, मितव्ययिता र खर्च कटौतीलाई आत्मसात् गर्दै विगतका कमजोरीहरू दोहोरिन नदिने र वर्तमान आर्थिक चुनौतीहरूको सामना गर्न सक्षम छ।

अर्थमन्त्री पौडेलले बजेटले लगानी, उत्पादन, उत्पादकत्व, उद्यमशीलता र रोजगारी वृद्धिमा विशेष जोड दिएको जानकारी गराए। उनले सिमित स्रोतलाई अत्यधिक प्रतिफल दिने कार्यक्रम तथा आयोजनामा विनियोजन गरिएको उल्लेख गरे।

“बजेटले उत्पादनका सबै क्षेत्रको मनोबल बढाउनेछ। निजी क्षेत्रलाई लगानीका लागि उत्प्रेरित गर्नेछ, स्टार्टअप, युवा र उद्यमीहरूलाई प्रोत्साहन गर्नेछ,” पौडेलले भने।

बजेट कार्यान्वयनका लागि सबै पक्षसँग सहकार्य र समर्थन आवश्यक रहेको उल्लेख गर्दै उनले यसमा सबैको साथ र सहयोग अपेक्षित रहेको बताए।

प्रकाशित : 29 May, 2025 8:19 pm