काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको भिजिट भिसा प्रकरणलाई सामान्य भ्रष्टाचारको विषय नभई संगठित मानव तस्करीसँग जोडिएको गम्भीर आपराधिक क्रियाकलाप भएको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भिजिट भिसाको नाममा करोडौं रुपैयाँ अवैध असुली भइरहेको उल्लेख गर्दै, ‘यो रोजगारीका लागि विदेश जान चाहने सामान्य युवामाथिको लुट हो र संगठित मानव तस्करीसँग जोडिएको विषय हो,’ भने।
पुनका अनुसार, गृहमन्त्रीको सचिवालयको प्रत्यक्ष संलग्नतासहित यो जालो सञ्चालन भइरहेको भन्ने कुरा विभिन्न पत्रपत्रिकामा सार्वजनिक भइसकेको छ। उनले गृहमन्त्रीको सचिवालयमा देखिएको संलग्नतासमेत उजागर गर्दै गृह मन्त्रालयमै उच्च तहबाट संरक्षण भएको आशंका व्यक्त गरे।
उनले त्रिभुवन विमानस्थलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य आरोपित मानेका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीकै अग्रसरतामा खटाइएको दाबी गरे। उनले प्रश्न गरे, “यत्रो ठूलो खेल राजनीतिक संरक्षकबिना सम्भव छरु सहसचिव स्वच्छ भएकोमा विश्वास गरेर पठाइएको हो त, कि कुनै स्वार्थका कारण ?”
सांसद पुनले घटनाको निष्पक्ष छानबिनको माग गर्दै दोषी उपर कडा कारबाही गर्न सरकारलाई आह्वान गरेका छन्।
Comment