किसान साकोसको विद्यार्थी लक्षित निःशुल्क आँखा शिविर: १७५२ जनाको परीक्षण, १७ को शल्यक्रिया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

किसान साकोसको विद्यार्थी लक्षित निःशुल्क आँखा शिविर: १७५२ जनाको परीक्षण, १७ को शल्यक्रिया



गैंडाकोट । पाँच पटकसम्म अन्तर्राष्ट्रिय स्तरको गुणस्तर (एक्सेस ब्राण्ड) प्राप्त गरी एसिया प्रसान्त क्षेत्रमा उत्कृष्ट पहिचान बनाउन सफल किसान बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा दुई दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

संस्थाका केन्द्रीय कार्यालय रहेको गैंडाकोट नगरपालिका वडा नं.८ अन्तर्गत कालिका नमुना मा.वि.सँगको समन्वय र नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालसँगको प्राविधिक सहजीकरणमा शिविर सञ्चालन गरिएको थियो ।

जेष्ठ ९ र १० गते सञ्चालित आँखा शिविरमा पहिलो दिन विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको आँखा परीक्षण र निःशुल्क चस्मा वितरण गरिएको थियो भने दोस्रो दिन साविक गैंडाकोट नगरपालिका क्षेत्रका आमनागरिकहरुको आँखा परीक्षण गरिएको थियो ।

विद्यालयस्तरमा संस्थाको उपस्थिति र बालबालिकाहरुको दृष्टि स्वस्थ राख्ने उद्देश्यले विद्यालयलाई लक्षित गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्जय राज तिमिल्सीनाले बताए। ‘हामी समुदायका सबै क्षेत्रमा संस्थाको उपस्थिति प्रभावकारी बनाउन चाहन्छौं । हाम्रो प्राथमिकता हाम्रो समुदायको समग्र विकास हो । संस्थाको स्रोत र क्षमताले भ्याएसम्म आन्तरिक स्रोत एवम् सहकार्य मार्फत स्थानीय आवश्यकताका आधारमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै जानेछौं’, तिमिल्सीनाले भने ।

विद्यालयको एकदेखि दश कक्षासम्म अध्ययनरत १४०० विद्यार्थीको आँखा परीक्षण गर्दा ६३ जनाको आँखामा समस्या देखिएपछि ५१ जनालाई निःशुल्क चस्मा र औषधि उपलब्ध गराइएको थियो भने १२ जनालाई थप परीक्षणका लागि अस्पताल रिफर गरिएको छ ।

दोस्रो दिन ३५२ जना स्थानीय समुदायका व्यक्तिहरुको आँखा परीक्षणको क्रममा अधिकांशमा आँखा सुख्खा हुने, चिलाउने, पिरो हुने र दृष्टिमा समेत समस्या देखिएको थियो । परीक्षण गराइएका मध्ये १७ जनाको आँखामा मोतियाविन्दु देखिएकोले संस्थाले भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क शल्यक्रियाको व्यवस्था गर्ने बताइएको छ । त्यस्तै सामान्य समस्या रहेका व्यक्तिहरुलाई निःशुल्क औषधि उपलब्ध गराइएको थियो ।

संस्थाका अध्यक्ष भोजराज पौडेलको अध्यक्षतामा उद्घाटन भएको आँखा शिविरमा गैंडाकोट–८ का वडा अध्यक्ष प्रेम सापकोटाको प्रमुख आतिथ्यता थियो । कार्यक्रमलाई शुभारम्भ गर्दै प्रमुख अतिथि सापकोटाले किसान साकोसले महत्वपूर्ण र आवश्यक कार्यक्रम गरेकोमा वडा कार्यालय सदैव साथमा रहने बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा सापकोटाले सबै सरोबारवाला पक्षहरुलाई आफ्नो विद्यालय छनोट गरेकोमा धन्यवाद व्यक्त गरे।

कार्यक्रममा विद्यालयका बालबालिकाहरुका साथै स्थानीय जेष्ठ नागरिक र गृहिणीहरुको उल्लेख्य सहभागिता रहेको थियो । समृद्ध सदस्य, दिगो साकोस परिकल्पना अनुरुप अगाडि बढेको किसान साकोसले, समुदाय आधारित एवं विद्यार्थी लक्षित कार्यक्रमहरु विभिन्न समयमा गर्दै आई रहेको छ । गैंडाकोट नगरपालिका वडा नं. ८ का ९८ प्रतिशत घरपरिवारबाट संस्थामा सदस्यता कायम रहेकोले पूर्ण घर सदस्य वडा समेत घोषणा गरेको जनाइएको छ । यस अगाडि यसै वडामा प्रतिपरिवार दुई बोट कुरिलोका बिरुवा वितरण गरिएको थियो भने टोलटोलमा फोहर संकलनका लागि डस्टबिनको व्यवस्था गरिएको छ ।

झण्डै चार अर्बको वित्तीय कारोबार गरिरहेको संस्थाले हाल ८४ हजार सदस्य र ११ हजार बाल बचतकर्ता सहित ९५ हजार जनालाई प्रत्यक्ष सेवा दिइरहेको छ ।

प्रकाशित : 25 May, 2025 7:27 am