काठमाडौं। नेपालको पहिलो केबलकार ‘मनकामना केबलकार’ ले आफ्नो सफल सञ्चालनको २८ वर्ष पूरा गरी २९औँ वर्षमा प्रवेश गर्दै छ । चितवन को-इ समूह अन्तर्गतको मनकामना दर्शन प्रा.लि. द्वारा सञ्चालित उक्त केबलकार मंसिर ८ गतेदेखि २९औँ वर्षमा प्रवेश गर्ने भएको हो ।
कम्पनीका अनुसार स्थापनाकालदेखि हालसम्म केबलकारमार्फत २ करोड १२ लाखभन्दा बढी यात्रुहरूले सुरक्षित र सहज यात्रा गरिसकेका छन् । समूहका स्वर्गीय संस्थापक लक्ष्मण बाबु श्रेष्ठको परिकल्पना तथा नेतृत्वमा सुरु भएको यस परियोजनाले नेपालको धार्मिक पर्यटन र पूर्वाधार विकासको क्षेत्रमा एक अग्रणी उद्यमका रूपमा आफूलाई स्थापित गर्न सफल भएको कम्पनीले जनाएको छ ।
वार्षिकोत्सवको विशेष अवसरमा कम्पनीले स्वर्गीय संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको दूरदृष्टि र मार्गनिर्देशनलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
यस यात्रामा साथ दिने सम्पूर्ण यात्रु, अहोरात्र खटिने कर्मचारी, पर्यटन तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रका साझेदारहरूप्रति कम्पनीले आभार प्रकट गरेको छ । साथै, सहिद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालय तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै आगामी वर्षहरूमा सेवालाई अझ स्तरीय बनाउँदै लैजाने कम्पनीले जनाएको छ ।







प्रतिक्रिया