
काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा दोलखा जिल्लाको विगु गाउँपालिकामा निर्माण हुने ४२ मेगावाट क्षमताको लाप्चे तामाकोशी जलविद्युत आयोजना तथा गोरखा जिल्लाको २ मेगावाट क्षमताको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको सफल वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।
लाप्चे तामाकोशी जलविद्युत आयोजना आर्थिक व्यवस्थापनका लागि एनएमबि बैंक लिमिटेड अगुवा बैंक रहनेछ भने अन्य सहभागी ऋणदाता संस्थाहरूमा नबिल बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड तथा डायनामिक हाइड्रो इनर्जी प्रा. लि. रहेका छन्। आयोजनाको कुल अनुमानित लागत करिब रु. ७ अर्ब रहेको छ, जसमा रु. ५ अर्ब २५ करोड बराबरको ऋण विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लगानी गरिनेछ।
यसैगरी, एनएमबि बैंक लिमिटेडले एकल लगानीमा २ मेगावाट क्षमताको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको पनि वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ। उक्त आयोजनाको अनुमानित लागत रु. ४३ करोड ४० लाख रहेको छ भने एनएमबि बैंकले रु. ३४ करोडको ऋण लगानी गर्नेछ।
दुवै आयोजनाको ऋण सम्झौतामा एनएमबि बैंकका चिफ – सस्टेनेबल इनर्जी बैंकिङ्ग श्री दिनेश दुलाल र डायनामिक हाइड्रो इनर्जी प्रा.लि.का अध्यक्ष श्री मोहन बिक्रम कार्कीले हस्ताक्षर गरेका हुन्। साथै, सम्झौता पत्र एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द घिमिरे र कम्पनीका अध्यक्ष श्री कार्कीबीच आदान–प्रदान गरिएको हो।
सम्झौता कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत श्री घिमिरेले एनएमबि बैंकले जलविद्युत परियोजनामा लगानी गर्नु अघि प्राविधिक, वातावरणीय, सामाजिक तथा वित्तीय जोखिमको सूक्ष्म मूल्याङ्कन गर्दै निर्णय लिने नीति अनुसार अघि बढेको जानकारी दिए। उनले बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको उल्लेख गर्दै आगामी दिनमा पनि स्वच्छ ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने प्रतिबद्धता जनाए।
यता, अध्यक्ष श्री मोहन बिक्रम कार्कीले एनएमबि बैंकसँग ८ वटा जलविद्युत आयोजनाका लागि ऋण लिइसकेको उल्लेख गर्दै लाप्चे तामाकोशी तथा चेपे खोला आयोजनालाई तोकिएको समयसीमा र लागतभित्र सम्पन्न गर्ने दृढता व्यक्त गरे।
नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसार एनएमबि बैंकले आफ्नो वातावरणीय तथा सामाजिक नीति (Environmental and Social Policy) तयार पारी पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System – ESMS) लागू गरिसकेको छ। यस प्रणालीअनुसार जलविद्युत परियोजनाहरूको दीर्घकालीन प्रभावलाई ध्यानमा राखी वित्तीय निर्णय लिइने गरिएको छ।
Comment