पूर्वीय दर्शनको उज्यालोमा ट्रान्स आन्दोलनको आत्मसमीक्षा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

पूर्वीय दर्शनको उज्यालोमा ट्रान्स आन्दोलनको आत्मसमीक्षा



सारा शुलमैनको क्रान्तिकारी पुस्तक ‘कन्फिल्ड इज नट अबुस’(वैचारिक द्वन्द्व दुर्व्यवहार होइन) ले आजको विश्वभरि फैलिएको एक खतरनाक प्रवृत्तिप्रति औँला ठड्याउँछ । सामान्य वैचारिक असहमतिको अवस्था वा द्वन्द्वलाई ‘दुव्र्यवहार’को रूपमा अतिरञ्जित गर्दै, त्यसका माध्यमबाट अरूलाई दोष दिने, बहिष्कार गर्ने र आफूलाई सधैं पीडितको रूपमा स्थापित गर्ने प्रवृत्ति छ । सारा शुलमैनका यी विश्लेषणहरू नेपालमा बढ्दो ट्रान्स आन्दोलनभित्र देखिएको आन्तरिक संघर्षसँग गहिरो रूपले प्रतिविम्बित हुन्छन् । जहाँ केही ट्रान्स अधिकारकर्मीहरूले नेपालका सुनिलबाबु पन्तलाई विचारात्मक असहमति होइन, व्यक्तिगत दमनकारीको रूपमा चित्रण गर्दै रद्द गर्न खोजिरहेका छन् ।

नेपालका खुलेर आएका पहिलो समलैंगिक सांसद, ब्लु डायमण्ड सोसाइटीका संस्थापक र पछिल्लो समय ःमायाको पहिचान नेपालमार्फत समावेशी आर्थिक अधिकार, स्वास्थ्य र पर्यटन प्रवद्र्धनमा क्रियाशील पन्तमाथि पछिल्ला वर्षहरूमा केही ट्रान्स कार्यकर्ताहरूले संगठित बहिष्कार र दाताहरूमा ‘क्यान्सल’ गर्न दबाब दिने प्रयास गर्दै आएका छन् । यस्ता कार्यहरूले विचारका स्तरमा आवश्यक हुने संवाद, आलोचना र सह–अस्तित्वको संभावनालाई पूरै अस्वीकार गर्छ ।

तर सारा शुलमैनले चेतावनी दिन्छन् –वैचारिक द्वन्द्व र दुव्र्यवहार एउटै कुरा होइनन् । जब आलोचना, असहमति वा फरक दृष्टिकोणलाई हिंसा वा अपमानका रूपमा व्याख्या गरिन्छ, तब व्यक्तिले केवल आफ्नो ‘पीडितपना’लाई हतियार बनाउँछ, जवाफदेहिता होइन ।

विचारको ठाउँमा उन्मूलनः नेपालमा बहिष्कारको राजनीति

ट्रान्स आन्दोलनभित्र देखिएको यो प्रवृत्ति अब केवल व्यक्तिगत मतभेदको विषय होइन । यो संस्थागत बहिष्कारको स्वरूप लिइसकेको छ । जहाँ पन्तसँग वैचारिक मतभेद राख्ने कार्यकर्ताहरू अन्य संस्थाहरूलाई दबाब दिन्छन्–‘उहाँलाई बोलाउनु हुँदैन,’ ‘मिडियाले उहाँलाई नछापोस्,’‘दाताले उहाँलाई नदिउन् ।’ यस्ता मागहरू आलोचनाका नाममा दमन हुन् । ती बहस होइनन्–संस्कृतिकै ‘शुद्धिकरण’ अभियान हुन् ।

सारा शुलमैन भन्छिन्,–‘जब समूहले आफूभित्रका समस्या हेर्न अस्वीकार गर्छ, उनीहरूले बाहिरी ‘दुश्मन’ सिर्जना गर्छन् जसलाई दोष दिन सकियोस् ।’ नेपालका केही ट्रान्स नेतृहरूले आज यही गर्दैछन् । स्वआलोचना गर्नुको सट्टा, पन्तलाई ‘समस्या’को रूपमा चित्रण गर्दै आफैंको ‘पहिचान राजनीति’लाई सुरक्षित राख्ने प्रयास गरिरहेका छन् ।

पूर्वीय र पाश्चात्य दृष्टिकोणः लिङ्ग पहिचानको विविधता

यस विवादमा विचार गर्नुपर्ने अर्को गहिरो तह हो—लैङ्गिक पहिचानसम्बन्धी सांस्कृतिक दृष्टिकोणको भिन्नता । पाश्चात्य (विशेष गरी अब्राहमिक संस्कृतिहरू–जस्तै यहूदी, इस्लाम, इसाई) ले लिङ्गलाई दुईवटा मात्र मान्छन् । पुरुष र महिला मात्र मान्छन् । यो दृष्टिकोण आधुनिक ट्रान्स अधिकार आन्दोलनको धेरै पक्षमा प्रभावशाली देखिन्छ, जहाँ लिङ्ग पहिचानलाई व्यक्तिगत आत्मबोध मात्रको रूपमा हेरिन्छ ।

तर पूर्वीय तथा आदिवासी संस्कृतिहरूमा, लिङ्गको परिभाषा अत्याधिक समावेशी र बहुआयामिक रहँदै आएको छ । बौद्ध धर्ममा कम्तीमा पाँच लिङ्गहरूको वर्णन पाइन्छ । नेपालको मातृसत्तात्मक इतिहासमा ६ वा ७ लिङ्गसम्मको स्वीकृति थियो । हिन्दू धर्ममा पनि त्रितीयप्रकृति वा शिव–शक्तिकोअवधारणा रहेको छ,जसले दुईवटा भन्दा धेरै लिङ्गहरूको स्वीकृति र सम्मान गरिएको छ ।

पन्तको दृष्टिकोण यस पूर्वीय विविधतालाई समेट्ने प्रयास हो—जहाँ लिङ्ग केवल यौन–अंगको उपज होइन । शारीरिक, सामाजिक, र सांस्कृतिक पहिचानको समुच्चय हो । तर आजका केही ट्रान्स नेतृहरूले पश्चिमी व्यक्तिगत पहिचानवादी दृष्टिकोण मात्रलाई ‘सही’ मान्दै, अरू सबै धाराहरूलाई रद्द गर्न खोज्दैछन् ।

आलोचना ‘डर’ होइन—प्रगतिका लागि अपरिहार्य औजार

प्रश्न उठ्छः के हामी बहस गर्न सक्दैनौं? के विचार फरक पर्नु ‘हिंसा’ हो ? यदि सुनिलबाबु पन्तको दृष्टिकोण, रणनीति वा व्यवहारप्रति असहमति छ भने, त्यो कुरा बहसको माध्यमबाट सम्बोधन हुनुपर्छ । बहिष्कार र बहस नर्गर्ने रणनीतिले सामाजिक आन्दोलनको नैतिक शक्ति गुमाउँछ ।

सारा शुलमैनले सही भन्छिन्–‘असहमतिको सामना गर्न नसक्नु सत्ताको डर हो, न्यायप्रति प्रतिबद्धता होइन ।’ यदि ट्रान्स आन्दोलनले आफूभित्रका आलोचनालाई सहन नसक्ने हो भने त्यो आन्दोलन पक्कै पनि मुक्तिको बाटोमा छैन ।

निष्कर्ष

नेपालको ट्रान्स आन्दोलन अहिले दोबाटोमा छ । एकातर्फ, यो आंदोलनले बहिष्कार, क्यान्सिल कल्चर (रद्द संस्कृति), र ‘पीडितपना’को हतियारिकरणमार्फत आफूलाई सबैभन्दा पीडित बनाउने दौडमा लाग्न सक्छ । अर्कोतर्फ, यसले बहस, आत्मसमीक्षा, र विचारको विविधतालाई अँगाल्दै, पूर्वीय समावेशी दृष्टिकोणमा आधारित परिवर्तनको बाटो अँगाल्न सक्छ ।
सुनिलबाबु पन्तलाई ’रद्द’ गर्नुले न्याय ल्याउँदैन—बरु यसले हाम्रो आन्दोलनबाट सबैभन्दा अनुभवी, विचारशील र प्रगतिशील आवाजहरूलाई मौन बनाउने काम गर्छ, त्यो पनि ठीक त्यही बेला जब हामीलाई तिनको आवश्यकता सबैभन्दा बढी छ । किनभने, अन्ततः (वैचारिक) द्वन्द्व दुव्र्यवहार होइन ।

प्रकाशित : १० बैशाख २०८२, बुधबार ११:१९