राष्ट्र बैंकले मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषबाट ९७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले आइतबार एक सूचना प्रकाशित गर्दै ३ सय ६६ दिन अवधिको लागि यो लगानी गर्न लागेको जानकारी दिएको हो।

बैंकका अनुसार यो रकम ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक तथा ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा लगानी गरिनेछ। कुल लगानीमध्ये वाणिज्य बैंकमा ७७ करोड ६० लाख, विकास बैंकमा १४ करोड ५५ लाख र वित्त कम्पनीमा ४ करोड ८५ लाख रुपैयाँ लगानी गरिने उल्लेख छ।

उक्त निक्षेप आगामी ७ वैशाख २०८२ देखि ७ वैशाख २०८३ सम्मको लागि हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले ३ वैशाखको साँझ ७ बजेभित्र आवेदन दिनुपर्नेछ। राष्ट्र बैंकले यसका लागि विभिन्न योग्यता मापदण्ड तोकेको छ, जसअनुसार बैंक तथा वित्तीय संस्था कम्तीमा दुई वर्ष सञ्चालनमा आएको हुनुपर्ने, कुल पूँजीकोष, तरल सम्पत्ति तथा निष्क्रिय कर्जा अनुपातका न्यूनतम मापदण्ड पूरा गरेको हुनुपर्नेछ।

यस्तै, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए कम्तीमा ६ महिना अघि कारबाही फुकुवा भएको हुनुपर्ने र समस्याग्रस्त घोषणा नभएको वा फुकुवा भइसकेको ६ महिना पूरा भएको हुनुपर्ने सर्त पनि लागू गरिएको छ। साथै, सर्वसाधारणका लागि शेयर निष्कासन भइसकेको पनि हुनुपर्ने शर्त छ।

राष्ट्र बैंकको यो कदमले सार्वजनिक कोषको प्रभावकारी व्यवस्थापन मात्र होइन, बैंकिङ प्रणालीमा अल्पकालीन तरलता प्रवाहको माध्यमका रूपमा समेत भूमिका खेल्ने देखिएको छ। यसले समग्र वित्तीय क्षेत्रको स्थायित्व तथा अनुशासनमा सन्देश दिने अपेक्षा गरिएको छ।

प्रकाशित : ३० चैत्र २०८१, आईतवार १४:२८