वैदेशिक रोजगार बीमाबाट जीवन बीमा कम्पनीहरूले भित्र्याए दुई अर्ब २८ करोड बढी, कसको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वैदेशिक रोजगार बीमाबाट जीवन बीमा कम्पनीहरूले भित्र्याए दुई अर्ब २८ करोड बढी, कसको कति ?



काठमाडौं। वैदेशिक रोजगार बीमा व्यवसायबाट जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुनसम्म दुई अर्ब २८ करोड १३ लाख रुपैयाँ भित्र्याएका छन्। बीमा प्राधिकरणको तथ्याङ्क अनुसार यो ८ महिनामा ११ वटा जीवन बीमा र ३ वटा लघु जीवन बीमा कम्पनीले २४ लाख ३६ हजार २२१ वटा वैदेशिक रोजगार बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन।

वैदेशिक रोजगार बीमा व्यवसायमा सबैभन्दा धेरै हिस्सा सन नेपाल लाइफको रहेको छ। यस कम्पनीको एक्लैको हिस्सा कुल व्यवसायमा ३९.०१ प्रतिशत रहेको छ। वैदेशिक रोजगार बीमालेख जारी गरेर यो कम्पनीले चालु आर्थिक वर्षको फागुनसम्म ८८ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रो एसियन लाइफ रहेको छ। यो कम्पनीले बीमालेख बिक्री गरेर ५६ करोड ८९ लाख रुपैयाँ कुल बीमशुल्क आर्जन गरेको छ। यसले कुल बीमा व्यवसायको २४.९४ प्रतिशत हिस्सा ओगटेको छ।

त्यस्तै तेस्रो धेरै व्यवसाय गर्ने कम्पनीमा नेपाल लाइफ रहेको छ। यो बीमा व्यवसायमा नेपाल लाइफको हिस्सा ७.५४ प्रतिशत रहेको छ। कम्पनीले ८ महिनामा १७ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यसैगरी, चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगार बीमालेख बिक्री गरेर आइएमई लाइफले १५ करोड ५२ लाख रुपैयाँ, नेसनल लाइफले १४ करोड २८ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ११ करोड ५० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले सात करोड ९० लाख रुपैयाँ, सूर्यज्योति लाइफले सात करोड ५७ लाख रुपैयाँ, सिटिजन लाइफले छ करोड ७८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४४ लाख १९ हजार रुपैयाँ र हिमालयन लाइफले ४१ लाख ११ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

लघु जीवन बीमातर्फ वैदेशिक रोजगार बीमालेख बिक्री गरेर लिबर्टी माइक्रो लाइफले २८ लाख ९४ हजार रुपैयाँ, गार्डियन माइक्रो लाइफले २८ लाख ८४ हजार रुपैयाँ र क्रेष्ट माइक्रो लाइफले चार लाख ५१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

प्रकाशित : १२ चैत्र २०८१, बुधबार १३:३५