प्राधिकरणका अध्यक्ष ओझा र भुटानका डेपुटी गभर्नर छोदेनबीच भेटवार्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्राधिकरणका अध्यक्ष ओझा र भुटानका डेपुटी गभर्नर छोदेनबीच भेटवार्ता



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र भुटानको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनबीच बीमा सम्बन्धी द्विपक्षीय सहयोग र आपसी ज्ञान एवम् अनुभव आदान–प्रदान सम्बन्धमा छलफल भएको छ ।

नेपाल बीमा प्राधिकणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज प्राधिकरणका अध्यक्ष ओझासँग भुटानका डेपुटी गभर्नर छोदेनले गरेको भेटमा नेपाल र भुटानको बीमा क्षेत्रको विद्यमान अवस्था, नेपालले अभ्यास गर्दै आएको जोखिममा आधारित पूँजी तथा जोखिममा आधारित सुपरीवेक्षण, पुनर्बीमा सम्वन्धी नेपालको अनुभव र द्विपक्षीय सम्वन्ध सुदढीकरण लगायतका विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नेपालले बीमा क्षेत्रमा जोखिममा आधारित पूँजी र जोखिममा आधारित सुपरीवेक्षणको अभ्यास गरिरहेको जानकारी दिदै यस सम्बन्धमा भुटानलाई आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिए ।

अध्यक्ष ओझाले आगामी दिनमा भुटानको रोयल मनिटरी अथोरिटीसँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्न र बीमा क्षेत्रलाई नयाँ उचाई दिनका लागि असल अभ्यासहरू आदान–प्रदान गर्न प्राधिकरण तयार रहेको बताए ।

भुटानको बीमा क्षेत्रको समेत नियामक निकाय रहेको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनले नेपाल बीमा प्राधिकरणले जोखिममा आधारित पूँजी, जोखिममा आधारित सुपरीवेक्षण र पुनर्बीमा सम्बन्धमा हासिल गरेका ज्ञान एवम् अनुभव भुटानका लागि समेत लाभदायक हुने बताए ।

डेपुटी गभर्नर छोदेनले बीमा क्षेत्रको समग्र विकासका लागि नेपाल बीमा प्राधिकरणसँगको सम्वन्धलाई अझ सुदृढ गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित : ६ चैत्र २०८१, बिहीबार १३:५८