१३ बर्षदेखि रोकिएको बाहिरी चक्रपथको काम सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१३ बर्षदेखि रोकिएको बाहिरी चक्रपथको काम सुरु



काठमाडौं, १३ वैशाख । जग्गा एकीकरण गरी जग्गा विकासको माध्यमबाट निर्माण गर्न लागिउको बाहिरी चक्रपथको काम लामो समयपछि अघि बढेको खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

चोभार – गाम्चा – सतुंगल खण्डको ६.६ किलोमिटर सडक निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) स्वीकृत भएसँगै १३ बर्षदेखि रोकिएको काम अघि बढेको हो ।

चोभारदेखि सतुंगलसम्मको ६ किलोमिटर सडक पाइलट प्रोजेक्टका रुपमा अघि बढाउन सहरी विकास मन्त्रालयले डीपीआर स्वीकृत गरेको मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले जानकारी दिए । उनका अनुसार स्वीकृत डीपीआर छिट्टै राजत्रपत्रमा प्रकाशित गरी काम अघि बढाइनेछ ।

जग्गा विकासको माध्यमबाट निर्माण गर्न लागिएको नेपालकै पहिलो यो सडकको कुल लम्बाइ ७२ किलोमिटर छ । बाहिरी चक्रपथको अधिकार क्षेत्र (राइट अफ वे) लागि आवश्यक पर्ने केन्द्र रेखाबाट दायाँबायाँ २७५–२७५ मिटर जग्गा अधिग्रहण गरिने गरी यो आयोजना अघि बढाइएको शर्मा बताउँछन् ।

बाहिरी चक्रपथका आयोजना अधिकृत धु्रवप्रसाद सापकोटाका अनुसार आयोजनाले गत महिना मन्त्रालयलाई डीपीआर तयार गरी बुझाएको छ । मन्त्रालयबाट डीपीआर स्वीकृत भएपछि आयोजनाले पहिलो चरणमा ६ किलोमिटर सडक निर्माणको काम अघि बढाउनेछ । करिब ६ अर्ब रुपैयाँ लागतमा उक्त सडक निर्माणको काम अघि बढाउन लागिएको हो ।

प्रकाशित : १३ बैशाख २०७४, बुधबार ०४:५७