काठमाडौं । सवारी साधन धनीहरूले आफ्नो सवारी साधनको कर तिर्नुपर्ने समयबारे स्पष्ट जानकारी पाउन आवश्यक छ। कतिपय व्यक्तिहरू सवारी साधनको कर तिर्ने समयबारे जानकार नहुँदा प्रत्येक वर्ष जरिवाना तिर्न बाध्य हुने गरेका छन्।
सवारी साधनको ब्लुबुक (सवारीको विस्तृत विवरण) को पहिलो पृष्ठमा सवारी दर्ता मिति उल्लेख गरिएको हुन्छ। सोही मिति अनुसार हरेक वर्ष नवीकरण मिति निर्धारण गरिन्छ। दर्ता मितिमा जुन महिना उल्लेख छ, सोही महिनामा हरेक वर्ष कर तिर्नुपर्ने हुन्छ।
ब्लुबुकको पछिल्लो पृष्ठमा सवारी नवीकरण मिति उल्लेख हुन्छ, जसमा जाँच गरिएको मिति र म्याद सकिने मिति उल्लिखित हुन्छ। सवारी साधनको कर म्याद समाप्त भएको ९० दिनभित्र कर तिर्दा कुनै जरिवाना लाग्दैन। तर, आर्थिक वर्षको चैत्रदेखि असार मसान्तसम्मको मितिलाई भने ९० दिनको सुविधा दिइँदैन।
कर तिर्नुपर्ने समयसीमा र जरिवाना दर
बैशाख, जेष्ठ र असार महिनामा म्याद सकिने सवारी साधनको कर चैत्र महिनाभित्रै तिर्नुपर्छ। अन्यथा, नियमअनुसार जरिवाना लाग्नेछ।
९० दिनभित्र कर तिर्ने समय पाउने सवारी साधनको हकमा यदि ९० दिनसमेत कटेपछि ३० दिनभित्र कर नतिरेमा १० प्रतिशत, ३० दिनपछि ४५ दिनभित्र नतिरेमा १५ प्रतिशत, ४५ दिनपछि नतिरेमा २० प्रतिशत जरिवाना लाग्नेछ।
आर्थिक वर्ष नै कटेमा ३२ प्रतिशत जरिवाना लाग्नेछ।
बैशाख, जेष्ठ, असार महिनामा म्याद सकिने सवारी साधनको कर चैत्रसम्म नतिरी बैशाखमा तिरेमा १० प्रतिशत जरिवाना लाग्नेछ। ३० दिन कटेपछि १५ प्रतिशत, ४५ दिनपछि २० प्रतिशत, र आर्थिक वर्ष नै कटेमा ३२ प्रतिशत जरिवाना लाग्ने व्यवस्था छ।
कतिपय सवारी चालकहरू आफ्नो कर कहिलेसम्म तिरेको छ भन्ने कुरा पनि बुझेका हुँदैनन्। ब्लुबुकको अन्तिम पृष्ठमा रहेको कैफियत हेरेर कुन-कुन वर्षको कर तिर्न बाँकी छ भन्ने जानकारी लिन सकिन्छ।
Comment