क्यान इन्फोटेकमा प्रविधिको प्रतिस्पर्धा, व्यवसाय विस्तारको नयाँ अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

क्यान इन्फोटेकमा प्रविधिको प्रतिस्पर्धा, व्यवसाय विस्तारको नयाँ अवसर



काठमाडौं । भृकुटीमण्डपमा जारी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ प्रविधि प्रदर्शनीमात्र नभई व्यवसाय विस्तारको महत्वपूर्ण प्लेटफर्म बनेको छ । सूचना प्रविधिसम्बन्धी नेपालकै सबैभन्दा ठूलो प्रदर्शनीमा देश-विदेशका विभिन्न कम्पनीहरूले आफ्ना नवीनतम प्रविधि र सेवा प्रस्तुत गरिरहेका छन् ।

आयोजक क्यान महासंघका अनुसार क्यान इन्फोटेकले ग्राहक, व्यवसायी र सेवा प्रदायकहरूलाई एकैथलोमा ल्याउँदै प्रविधिको प्रवर्द्धन तथा बजार विस्तारका अवसरहरू सिर्जना गरिरहेको छ । विभिन्न ब्रान्ड तथा कम्पनीहरूले स्टलमार्फत उपभोक्ताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आफ्ना उत्पादन तथा सेवाबारे जानकारी प्रदान गरिरहेका छन् ।

यस वर्षको क्यान इन्फोटेकमा सूचना प्रविधि क्षेत्रमा क्रियाशील स्टार्टअप कम्पनीहरूको समेत उल्लेख्य उपस्थिति रहेको छ । विशेषगरी साइबर सुरक्षा, कृषि प्रविधि, हस्पिटालिटी, बैंकिङ सोलुसन तथा अन्य अत्याधुनिक प्रविधि समाधानहरू अवलोकनकर्ताको आकर्षणको केन्द्र बनेका छन् । स्टार्टअप कम्पनीहरूका लागि सम्भावित लगानीकर्ता, साझेदार र ग्राहकहरूसँग प्रत्यक्ष सम्पर्क गर्ने अवसर मिल्नुका साथै आफ्ना नवीनतम प्रविधि तथा समाधानहरू बजारमा स्थापित गर्न क्यान इन्फोटेकबाट सहयोग पुगेको क्यानका महासचिव चन्द्र विलास भुर्तेलले बताए।

साथै, सूचना प्रविधि कम्पनीहरू, इन्टरनेट सेवा प्रदायक, सफ्टवेयर तथा हार्डवेयर उत्पादकहरूबीच सहकार्यका सम्भावना खोज्न अनुकूल वातावरण निर्माण भएको उनको भनाइ छ ।

शनिबार प्रविधि अवलोकन तथा खरिदमा चासो राख्ने सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । सार्वजनिक बिदाका कारण प्रदर्शनीस्थल प्रविधिप्रेमीहरूका लागि रमाइलो गन्तव्य बनेको थियो ।

क्यान इन्फोटेकमा सहभागी विभिन्न कम्पनीहरूले आफ्ना उत्पादन तथा सेवामा विशेष छुट तथा प्रवर्द्धनात्मक अफर ल्याएका छन् । शीर्ष प्रायोजक एचएमसी हिक्सेमीले आफ्ना उत्पादनको विशेष प्रदर्शनीसँगै उपभोक्ताका लागि आकर्षक स्किम घोषणा गरेको छ । यसअन्तर्गत वायरलेस क्यामेरामा २० प्रतिशत, हिक्सेमीका हरेक उत्पादनमा १५ प्रतिशत, मोनिटरमा २० प्रतिशत र यूपीएसमा १० प्रतिशत छुट दिइएको छ । साथै उक्त कम्पनीले एसर ब्रान्डको ल्यापटप किन्दा सात हजार रुपैयाँ मूल्य पर्ने वाईफाई क्यामेरा नि:शुल्क प्रदान गर्ने घोषणा गरेको छ । 

त्यस्तै मर्कन्टाइल कम्युनिकेसन्सले एसर ब्राण्डका पछिल्ला ल्यापटप र डेस्कटपसँगै इप्सन ब्राण्डका प्रिन्टर र प्रोजेक्टरको विशेष प्रदर्शनी गरेको छ । साथै स्टलबाटै डिलर र रिसेलरसँग अन्तर्क्रिया गरिरहेको कम्पनीले जनाएको छ ।

चार्ज सकिंदा ब्याट्री नै फेर्न मिल्ने गोगोरो इलेक्ट्रिक स्कुटरले पनि अवलोकनकर्ताको ध्यान तानेको छ । कम्पनीले ईभी प्रेमीका लागि काठमाडौं सहरभित्र १००० किलोमिटर निःशुल्क यात्रा गर्न सक्ने तथा निःशुल्क टेस्ट ड्राइभका साथै लक्की ड्र अफर सञ्चालन गरिरहेको छ । 

अनलिमिटेड टेक्नोलोजी प्रा. लि. (ज्याप) ले फेब्रुअरी महिनाभर अनलिमिटेड रेमिट सेवामा रिफर अफर ल्याएको छ, जसअन्तर्गत विदेशबाट रेमिट पठाउने व्यक्तिलाई रिफर गर्दा एक हजार रुपैयाँसम्म कमाउन सकिन्छ । एस पावर बीपीई प्राइभेट लिमिटेडले शिक्षण संस्थाहरूका लागि स्मार्ट बोर्ड, यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर, वाटर पम्पलगायत प्रविधि प्रदर्शनीमा राख्दै अधिकतम ४० प्रतिशत छुट घोषणा गरेको छ ।

ओडो कम्पनी (बेल्जियम) ले नेपाली व्यवसायहरूका लागि अकाउन्टिङ सफ्टवेयर ३२ हजार रुपैयाँमै उपलब्ध गराउने योजना ल्याएको छ, जुन सामान्य अवस्थामा एक लाख रुपैयाँ पर्ने बताइएको छ । डियरवाक ट्रेनिङ सेन्टरले आफ्नो स्टलमा आएका विद्यार्थीहरूलाई निःशुल्क परामर्श प्रदान गर्दै तीन भाग्यशाली विद्यार्थीलाई १०० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । साथै रमाइलो खेलमा सहभागी भएर आईटी कोर्समा ४० प्रतिशत छुट पाउने अफर समेत दिइएको छ ।

क्यान इन्फोटेकको अर्को आकर्षण बेन्क्यू (BenQ) ले ल्याएका अत्याधुनिक इन्टरएक्टिभ (स्मार्ट) बोर्डहरूमा देखिन्छ । टचस्क्रिन सुविधा, उच्च-गुणस्तरको डिस्प्ले र विभिन्न शैक्षिक सफ्टवेयरहरू सपोर्ट गर्ने भएकाले यी स्मार्ट बोर्डहरूले शिक्षण र प्रस्तुतीकरणलाई थप प्रभावकारी बनाउने कम्पनीको भनाइ छ । त्यस्तै हाइफ्युचरले आफ्ना उत्पादनमा लक्की ड्र कम्पिटिसन आयोजना गरी अवलोकनकर्तालाई लोभ्याएको छ । स्मार्टवाच, इयरबड्स लगायतका लागि नेपाली ब्रान्ड ग्रिन लाइफ एक्सपिरियन्सले स्पिन एन्ड विन कन्टेस्टमार्फत उपहार योजना सञ्चालन गरिरहेको छ । त्यस्तै र्‍यापुले तीन हजार मूल्य पर्ने एलिस्टा इयरबड्स मात्र १५ सय रुपैयाँमै उपलब्ध गराएको छ ।

‘कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणालीको स्टलमा अवलोकनकर्ताको चासो बढेको देखिन्छ । यसपाली क्यान इन्फोटेकमा आईटी तथा इन्जिनियरिङ कलेजहरूको पनि उल्लेख्य सहभागिता रहेको छ । यसमध्ये केही कलेजले आफ्ना विद्यार्थीले बनाएका इनोभेटिभ प्रडक्टहरू प्रदर्शनमा राखेका छन् ।

यसअन्तर्गत सफ्टवेरिका कलेजका विद्यार्थीले तयार पारेको एडभान्स्ड एआई पावर्ड भर्चुअल एन्ड रोबोटिक ट्युटरले धेरै प्रविधि जिज्ञासुलाई आकर्षित गरेको छ । ‘मिरा प्रोफेसर’ नाम दिइएको यो रोबोटले विश्वविद्यालका विद्यार्थीलाई अध्यापन गराउन सक्ने बताइएको छ ।

रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्यान) ले रोबोटिक्स प्रतियोगिता सञ्चालन गरिरहेको छ, जसमा इन्जिनियरिङ विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको छ । त्यस्तै राइड हेलिङ प्लेटफर्म टुटलले क्यान इन्फोटेकमा आएर दर्ता गर्ने ग्राहकका लागि बाइक र क्याब दुवैमा ६० प्रतिशत छुटको प्रोमोकोड उपलब्ध गराएको छ ।

क्यान इन्फोटेकमा सरकारी तथा गैरसरकारी संस्थाहरूको समेत विशेष उपस्थिति रहेको छ । नेपाल प्रहरीले आफ्ना डिजिटल सेवा तथा साइबर सुरक्षा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र दर्ता (लाइभ इनरोलमेन्ट) प्रक्रिया सञ्चालन गरिरहेको छ, जसमा नागरिकहरू सहभागी भइरहेका छन् । त्यस्तै अभियन्ता फाउन्डेसनले दन्त, मधुमेह, आँखा परीक्षणलगायत स्वास्थ्य परीक्षण सेवा निःशुल्क प्रदान गरिरहेको छ भने जेसीआई गोदावरीको पहलमा रक्तदान कार्यक्रम समेत सञ्चालन भइरहेको छ ।

प्रविधिको विकास र विस्तारका लागि क्यान इन्फोटेक महत्वपूर्ण प्लेटफर्म बन्न सफल भएको सहभागीहरूको प्रतिक्रिया छ । प्रदर्शनीमा नेपाली प्रतिभा र आविष्कारलाई नीतिगत रूपमा प्रवर्द्धन गर्नुपर्ने मागसमेत उठिरहेको छ । सूचना प्रविधि क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने तथा प्रविधिमा आधारित व्यवसायहरूको प्रवर्द्धनका लागि क्यान इन्फोटेक जस्ता मञ्चहरू निरन्तर आवश्यक रहेको सहभागीहरूको धारणा छ । कुल १५५ स्टल रहेको क्यान इन्फोटेक २०२५ माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित : २६ माघ २०८१, शनिबार २०:३७