जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छः सांसद पन्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छः सांसद पन्त



काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले जनयुद्धको बेलामा नेपाली जनताका जिउधनमा हान्नेहरु र खुरु खुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरुबीच तालमेल मिलेको भन्दै व्यङ्ग्य गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै यस्तो व्यङ्ग्य गरेका हुन् ।

उनले भने, ‘रमाईलो दृश्य संसद सुरु हुने वित्तिकै देखिन थालियो । जनयुद्धको बेलामा नेपाली जनताका जिउ र धनमा हान्नेहरु र खुरु खुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरुको बीचमा जुन खालको र्याङख्याङ आज मिलेको देखियो वास्तवमा नै रमाईलो छ ।’

त्यस्तै, उनले प्रचण्डले अध्यादेशलाई निकै आक्रमण गरेपनि संशोधन गरिएका कानुनको दफाहरुमध्य कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानि र नागरिक अधिकार खोस्छ भन्ने कुराको उदाहरण दिन नसकेको बताए । प्रचण्डले संसदमा आफ्ना कुण्ठा अभिव्यक्त गरेको आरोप लगाउँदै उनले संसद कुण्ठा अभिव्यक्त गर्ने थलो नभएको बताए ।

उनले भने, ‘उहाँले अध्यादेशलाई निकै आक्रमण गर्नुभयो । छ वटा अध्यादेशमा २९ वटा कानुनहरुको संशोधन प्रस्ताव अगाडि सारिएको छ । तर ती संशोधन गरिएका कानुनको दफाहरुमध्य कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानि पुग्छ ? कुन दफाले नागरिक अधिकार खोस्छ ? एउटा पनि उदाहरण दिन सक्नुभएन । यो कुण्ठा अभिव्यक्त गर्ने ठाउँ संसद हुँदैन ।’

प्रकाशित : २४ माघ २०८१, बिहीबार १७:२३