काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ लागु गरेको छ । बोर्डले एक सूचना जारी गरी उक्त नियमावली माघ ३ गते बिहीबारबाट लागू हुने जानकारी गराएको हो।
बोर्डले नियमावली कार्यान्वयन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएससीलाई पनि पत्राचार गरेको छ। योसँगै अब साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार प्रणाली विकास गर्न नेप्से र सीडीएससीले प्रक्रिया अगाडि बढाउनेछन्।
यसअघि पुस ५ गते शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त नियमावली, २०८१ स्वीकृत गरेको थियो। करिब डेढ वर्षअघि सेबोनले यो नियमावलीको मस्यौदा तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो।
हाल नेप्सेको एउटै इन्डेक्समा ठूला-साना सबै प्रकारका कम्पनीको शेयर कारोबार हुँदै आएको छ। नियमावली लागू भएसँगै सेबोनले नियमावलीमा तोकिएझैँ साना तथा मझौला कम्पनीहरुको शेयर निष्कासन तथा कारोबारका लागि छुट्टै इन्डेक्स सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाएको हो।
एसएमई प्लेटफर्म सञ्चालनपछि साना कम्पनीहरुलाई पुँजी जुटाउन र व्यवसाय बढाउन सहज सेबोनको अवधारणा छ। यसले थोरै पुँजी भएका कम्पनीहरुलाई बजारमा आउन बाटो खुला हुनेछ।
हाल कम्पनीहरुलाई जारी पुँजीको अधिकतम ३९ प्रतिशत र न्यूनतम १० प्रतिशत साधारण शेयर (आइपीओ) ल्याउन पाउने प्रावधान छ। नियमावलीमा अधिकतम २५ करोड रुपैयाँ चुक्तापुँजी भएका कम्पनी दर्ता गर्न मिल्ने र त्यस्ता कम्पनीले अधिकतम ४९ प्रतिशतदेखि न्यूनतम ३० प्रतिशतसम्म आइपीओ ल्याउनुपर्ने प्रावधान तोकिएको छ।





Comment