काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनामा नेपाल भित्रने रेमिट्यान्स ४.४ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको मंसिर मसान्तसम्म ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स २१.१ प्रतिशतले बढेको थियो ।
मंसिर मसान्तसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब ६९ अर्ब ७७ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ_ लिने नेपालीको संख्या १ लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४२५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ७१ हजार ९७५ र १ लाख २ हजार ५४२ रहेको थियो ।
Comment