सूर्यदर्शन सहकारीकाे थुनछेक आदेश आउने सम्भावना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सूर्यदर्शन सहकारीकाे थुनछेक आदेश आउने सम्भावना



पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज थुनछेक सम्बन्धि आदेश आउने सम्भावनाहरु देखिएका छन् ।

जाहेरवाला र प्रतिवादीहरुको तर्फबाट थुनछेक बहस सकिएको र सरकारका तर्फबाट जिल्ला न्यायधिबक्ताको तर्फबाट प्रतिउत्तर दिन बाँकी रहेको अवस्थामा आज जिल्ला न्यायधिबक्ताले प्रतिउत्तर दिएपछि आजै जिल्ला न्यायाधिश नितिज राइले थुनछेक सम्बन्धि आदेश जारी गर्न सक्ने सर्वत्र अपेक्षा गरिएको छ ।

बिहीबार सरकारी वकिलहरूले बहस गरेपछि साँझसम्म आदेश आउन सक्ने स्रेस्तेदार राजन खनालले जानकारी दिए । ‘सरकारी वकिलको जवाफी बहस सकिएपछि सम्भवतः भोलि नै आदेश आउन सक्छ । तर बहस कति लामो समय जान्छ यसै भन्न सकिएन,’ उनले भने, ‘बहसमा भर पर्ने कुरा भयो ।’ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता सहित उच्च सरकारी वकिल कार्यालयबाट पनि बहस हुने बताइएको छ ।

बुधबार जाहेरवालाको तर्फबाट रमण कर्ण, राम घिमिरे र वेदबहादुर विष्टले जवाफी बहस गरेका छन् । पीडितहरूले न्याय पाउनका लागि सबैलाई पूर्पक्षका लागि थुनामा पठाउनुपर्ने दाबी वकिलहरूको छ ।

त्यसअघि प्रतिवादी रामबहादुर खनालको तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुप्रसाद शर्मा र मोहनबहादुर थापाले बहस गरेका थिए । कृष्णबहादुर गुरुङको पक्षबाट अधिवक्ता हरि सुवेदी र गंगाप्रसाद सुवेदी तथा मीना गुरुङ र आरती गुरुङको पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर र अधिवक्ता मनोज घर्तिमगरले थुनछेक बहस गरेका थिए ।

यसैबीच धेरैले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने छुट्लान कि जेल जालान् भनेर जिज्ञासा राखिरहेका छन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरु भने पार्टी सभापति लामिछाने आज धरौटीमा छुट्ने कुरामा बिस्वस्त जस्ता देखिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता उत्तम प्रसाद पौडेलले त बिहिबार साँझसम्म आफ्नो पार्टी सभापति हिरासतमुक्त हुने दाबी गरे । उनले आज साँझसम्म अदालतको आदेश बमोजिम पार्टी सभापति लामिछाने हिरासतमुक्त हुने र आम नेपाली जनताले खुल्ला आकाश मुनि स्वागत पाइने अपेक्षा प्रकट गरे ।

प्रकाशित : २५ पुष २०८१, बिहीबार १०:१४