काठमाडौं । कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पा स्वदेश फर्किएका छन् । विश्व कीर्तिमानी माउन्टेन गाइड मिङ्मा जी शेर्पा अक्सिजन बिना नै आठ हजार मिटर अग्ला १४ वटा हिमालको सफल आरोहण गरि शुक्रबार स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्किएका उनलाई नेपाल पर्वतारोहण संघले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका छन् । शेर्पाले अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गर्ने पहिलो नेपालीको रेकर्ड बनाएका छन् । शेर्पाले सातवटै महादेशका सर्वोच्च शिखर आरोहण पनि गरेका छन् ।
स्वदेश फर्किएका जी शेर्पाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सानैदेखीको नेपाललाई विश्वसामू चिनाउने आफ्नो सपना पूरा भएको बताए । उनले सातवटै महादेशको हिमालहरु सफलतापूर्वक आरोहण गर्न सक्दा खुसी भएको बताए ।
उनले भने, ‘मेरो एउटा सपना थियो नेपाललाई विश्वसामू चिनाउने आज यो लगभग पूरा भएको छ । हामी नेपालीहरु पनि विश्वसामु चिनिनुपर्छ । विश्वको जुनसुकै देशमा भए पनि हामी नेपाली पनि हरेक क्षेत्रमा अब्बल छौं भन्ने प्रमाणित गर्न सक्नुपर्छ ।’ यसैगरी उनले बिना अक्सिजन आरोहण गर्न धेरै अफ्ठयारो नभएको बताए ।
Comment