सहकारी समस्या समाधानका लागि अध्यादेश ल्याइएको छ : मन्त्री अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी समस्या समाधानका लागि अध्यादेश ल्याइएको छ : मन्त्री अधिकारी



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान गर्ने उद्देश्यले नै सहकारी ऐन २०७४ मा अध्यादेशमार्फत संशोधन गरिएको बताएका छन् । शुक्रबार राष्ट्रिय सहकारी महासंघको ३२औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री अधिकारीले सहकारी अभियानले उठाएको विरोधका बुँदामा सरकार छलफल गर्न तयार रहेको स्पष्ट पारे ।

उनले भने, “सहकारी क्षेत्रमा सुधार गर्ने अभिप्रायले अध्यादेश ल्याइएको हो । सहमति गरेर अघि बढ्दा केही कुराहरू सम्पूर्ण रूपमा मिल्न नसक्लान्, तर आवश्यक परिमार्जन गर्न सकिन्छ ।”

अधिकारीले सहकारीलाई कर्जा सूचना केन्द्र र बचत तथा ऋण सुरक्षा कोषसँग जोड्ने विषयसमेत अध्यादेशमा समेटिएको जानकारी गराउँदै यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

सहकारीका लागि कर्जा असुली न्यायाधिकरण छिट्टै गठन हुने जानकारी दिँदै मन्त्री अधिकारीले सहकारीको स्वायत्तता भनेको छाडा व्यवस्थापन नभएको र सबैले ऐन तथा कानुन पालना गर्नुपर्नेमा जोड दिएका छन् ।

महासंघकी अध्यक्ष ओमदेवी मल्लले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै महासंघको अध्यादेशप्रति ध्यानआकर्षण भएको बताइन् । उनले भनिन्, “महासंघको बोर्ड बैठकले सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ र अभियानको भावनालाई सम्बोधन गरिनेमा हामी आशावादी छौं ।”

पूर्व मन्त्री तथा महासंघका पूर्व अध्यक्ष केशव बडालले सहकारीमा बचतको सीमा तोक्नु गलत भएको भन्दै यसलाई परिमार्जन गर्न जोड दिए । उनले सहकारीको स्वायत्तता र स्वतन्त्रतालाई कमजोर पार्ने कुनै पनि कदमको समर्थन गर्न नसकिने बताए ।

साधारण सभामा महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकारहरू दीपकप्रकाश बाँस्कोटा, खगराज अधिकारी, लिलामणि पोखरेल, उषा झा, सहकारीको स्वायत्तता बलियो बनाउनुपर्ने धारणा राखेाका थिए । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुन पोखरेलले अध्यादेशलाई अभियानसँग छलफल गरेर सुधार गर्दै जाने बताए ।

कार्यक्रममा महासंघका अध्यक्ष मल्लले आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् । लेखा सुपरिवेक्षण समितिका संयोजक भीम तुलाचनले लेखा सुपरिवेक्षण प्रतिवेदन, निवर्तमान अध्यक्ष मिनराज कँडेलले महासंघको विनियम संशोधन प्रस्ताव र महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले चार वर्षे व्यवसायिक योजना तथा संशोधित कार्यविधिहरू प्रस्तुत गरेका थिए ।

सहकारी सञ्चालनमा व्यवहारिक ज्ञानसम्बन्धी पुस्तक विमोचन

राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा लिखित ‘सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान’ नामक पुस्तक विमोचन गरिएको छ । महासंघको ३२औं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, महासंघका पूर्व अध्यक्षद्वय केशव बडाल र दीपकप्रकाश बाँस्कोटाले पुस्तक सार्वजनिक गरेका हुन ।

पुस्तक विमोचनका क्रममा पूर्व अध्यक्ष बडालले पुस्तक सहकारीकर्मीका लागि अत्यन्तै उपयोगी रहेको बताए । महाप्रबन्धक सुब्बाले छोटो समयमै पुस्तक तयार गरिएको जानकारी गराउँदै सहकारी क्षेत्रमा आवश्यक थप सामग्री तयार पार्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन् “सहकारीमा सैद्धान्तिक विषयमा मात्र बहस हुने गरेको छ । व्यवहारिक पक्षमा बहसको अभाव भएकाले मैले यो पुस्तकमा व्यवहारिक पक्ष समेट्न प्रयास गरेकी छु ।”महाप्रबन्धक सुब्बाको यो दोस्रो पुस्तक हो । यसअघि उनले ‘सहकारीमा २५ वर्षः भोगाइ र अनुभव’ शीर्षकको पुस्तक प्रकाशित गरेकी थिइन् ।

प्रकाशित : १२ पुष २०८१, शुक्रबार १८:०२