कनेक्टिविटीमा सुधार गर्न नसकेसम्म पर्यटनको विकास संभव छैन्ः अन्जन बगाले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कनेक्टिविटीमा सुधार गर्न नसकेसम्म पर्यटनको विकास संभव छैन्ः अन्जन बगाले



अन्जन बगाले हस्पिटालिटी क्षेत्रको परिचित नाम हो । पर्यटन क्षेत्रको मेरुदण्ड मानिने हस्पिटालिटी व्यवस्थापनमा अब्बल उनी ऐतिहासिक पाँचतारे होटल डेल अन्नपूर्ण (हाल अन्नपूर्ण स्क्वायरका रुपमा रुपान्तरण हुँदै) संचालन गर्ने व्यवसायिक समूह अन्नपूर्ण ग्रुपअफ होटलका जनरल म्यानेजरका रुपमा कार्यरत छन् । नेपालको पर्यटनको अवस्था र पर्यटन क्षेत्रको विकासमा होटलहरुको भूमिकालगायतका विषयमा कुराकानी गरेको छ ।

नेपालको पर्यटनको हालको अवस्थालाई कसरी हेरिरहनु भएको छ ?

नेपालको पर्यटनको अवस्थालाई हेर्दा सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही एडमन्ट हिलारीको समयदेखि हालसम्मको अवस्थालाई मूल्यांकन गर्नुपर्छ । सगरमाथा पत्ता लगाएपछि पर्यटकका लागि जुन फोकस थियो त्यो मात्र नभएर अहिले वाइडलाइफ टुरिज्म, र्याफटिङ, हाइकिङलगायत विभिन्न विधाहरुको विकास भएको हेर्दा पर्यटनको अवस्था उज्वल छ भन्ने स्पष्ट नै छ । पर्यटन क्षेत्रको विकासका लागि होटलसँगै एयरलाइन्सको समेत ठूलो भूमिका हुनेगर्छ । त्यसैले पर्यटनलाई एउटा विधा वा क्षेत्रलाई मात्र हेरेर मूल्यांकन गरिनु हुँदैन् ।


अर्को कुरा भनेको विदेशबाट पर्यटक भित्र्याउने जुन मेकानिजम छ त्यो चाँही अहिले सुस्ताएको छ । संस्थागत रुपमा काम हुन सकिरहेको छैन् । सरकारी स्वामित्वमा रहेका संस्थाहरुको भूमिका त्यति प्रभावकारी देखिएको छैन् । पर्यटन प्रवद्र्घनका लागि खुलेका संस्थाहरुमा राजनीतिकरण भएको पाइन्छ । पर्यटनको क्षेत्रमा काम गर्ने मान्छेहरुको निकै कमी देखिन्छ । अघिल्लो वर्ष टुरिजम बोर्ड जस्ता संस्थाहरुले डब्लुटिएमजस्ता गरिमामय स्टेजमा नेपाललाई देखाउन सकेनौं । त्यसले नेपालको पर्यटनलाई केही असर पारेको छ । एयरलाइन्सको भूमिका हेर्दाखेरी नेपाल एयरलाइन्स अवस्था नाजुक देखियो ।

सुरक्षाको दृष्टिकोणबाट मार्केटमा एयरलाइन्सका बारेमा नकरात्मक छाप परेको छ । बाढी पहिरोले पनि पर्यटन क्षेत्रमा असर पारेको छ । हाम्रा सडक पूर्वाधारहरु लाज लाग्ने अवस्थाका छन् । दुर्घटना धेरै निम्त्याइरहेको छ । कयौंको ज्यान पनि गइरहेको छ । भारतीय तिर्थयात्री बोकेको बस नदीमा खसेको भर्खरै मात्र हो । वर्षैपिच्छे जहाज दुर्घटनाको दुखद खबरले अन्तर्राष्ट्रिय मिडियाहरुमा र विदेशी बजारमा नराम्रो छाप पारेको छ । यि विविध कुरालाई हेर्दा पर्यटन क्षेत्रमा प्रशस्त समस्याहरु देखिएका छन् । यसलाई व्यवस्थापन गर्नु हाम्रो मूल दायित्व हुनुपर्छ ।

पर्यटक भित्र्याउने सरकारले जुन लक्ष्य लिइएको थियो त्यो पूरा भएको देखिन्छ । यस हिसाबले त पर्यटनको अवस्थामा सुधार देखिएको होइन र ?

आजभन्दा १० वर्ष अगाडि जे अवस्था थियो अहिले त्यस्तै छ । होटलको रेट पनि १० वर्ष अगाडि जे थियो त्यहीँ छ । डलरको कन्भर्सनले हेर्दाखेरी अलिकति वृद्घि भएको जस्तो देखिएको हो । तर यर्थाथमा हेर्ने हो भने नेपालको पाँचतारे होटलले एकसयदेखि १५० डलरमै पर्यटनबाट खर्च उठाउँछन् । तर जुन सप्लायर्स र डिमाण्ड मिल्नुपर्ने हो त्यो मिलिरहेको छैन । लगानीकर्ताहरुले पनि अन्धाधुन्ध लगानी गरेको देखिन्छ । जुन तरिकाको पर्यटक आउने फ्लो छ त्यसमा सुधार भइसकेको छैन् । अहिले काठमाडौंमा सिजनल समयमा ९० प्रतिशत होटल बुकिङ हुनुपर्ने हो तर यो वर्षको तथ्यांकको अवस्था हालत नै छ । अवस्था ४५ देखि ५० प्रतिशतमा मात्र छ । पोखरा ४० प्रतिशत भन्दा कममा छ । चितवन ३० प्रतिशत भन्दा कममा छ । लुम्बिनीमा त्यस्तै छ । होटेल खोलेर मात्रै पनि हुने अवस्था छैन । यसका लागि कनेक्टिविटी हुनुपर्छ । तर राज्यले भन्सारदेखि लिएर हरेक पूर्वाधारमा सुधार ल्याउनुपर्ने देखिन्छ ।

नेपालका होटलहरु अन्तर्राष्ट्रिय स्तरका अर्थात लक्जरी भएनन् र सोही स्तरका पर्यटक नेपाल आउन चाहिरहेका छैनन् भन्ने छ । के नेपालका होटलहरुको स्तरीयतामा प्रश्न उठेको हो ?

होटल एउटा पक्ष हुनसक्छ । अन्तर्राष्ट्रिय पर्यटकको लागि जुन लक्जरीयस हुनुपर्छ त्यसमा होटल नै पर्छ । नेपालमा लक्जरी नभएका होइनन् । वितेको पाँच वर्षको अवधिमा ब्राण्ड होटलहरु आएका छन् । हिल्टन त्यसको उदाहरण हो । अब चाँडै अन्नपूर्ण स्क्वायर आउँदै छ । यस्तै चौधरी ग्रुपले ललितपुरको झम्सीखेलमा लक्जरी होटल सञ्चालनमा ल्याउँदैछ । लग्जरी होटलहरु पर्यटनको लागि राम्रो पक्ष हो । नेपालको मार्केटस्तर विदेशमा राम्रो नै छ । दुवइ, साउदी, कतार, माल्दिभ्स, मकाओ र युरोपियन देशहरुमा नेपालले हस्पिटालिटिको बजार विस्तार गरिसकेको छ । तर हामीकहाँ कमजोरीहरु प्रशस्त छन् ।

नेपालका होटलहरु सेवामुलक भन्दापनि नाफा केन्द्रीत भए भन्ने आरोप छ । वास्तवमा यस्तै हो ?

यसलाई हामीले तथ्यांकमा हेर्नुपर्छ । जिओपी र एनओपी भन्ने कुराहरु हेर्नुपर्छ । नेपालमा नाफामुलक नै भएभन्ने हो भनेपनि होटलहरुले लगानी गरेका छन् त्यसको साँवाव्याज तिर्नै मुस्किल परिरहेको अवस्था छ । नाफामुलक उद्देश्यले होटल संचालनमा आए होलान तर व्यवसायीको अवस्था त्यहाँसम्म पुगिसकेको छैन् ।

यतिबेला नेपालमा पर्यटकको बसाइको अवधि कति छ ?

नेपालको पर्यटकको सरदर बसाइ औसत १३ देखि १५ दिन जस्तो देखिन्छ । बसाइको तुलनालाई मूल्याकंन गर्दै हामीले पर्यटन गतिविधीहरु बढाउनुपर्छ । साथै वातावरणको पाटोलाई बढाउन जरुरी छ । युरोपका बच्चाहरुलाई धान कसरी उम्रिन्छ भनेर असार साउनको महिनामा देखाउन सकिन्छ । पर्यटकीय स्थलहरुमा सोही अनुसारका गतिविधिहरु बढाउनसक्नुपर्छ । अहिले पर्यटकले चिनेको भनेको काठमाडौं, पोखरा र चितवन मात्र छ । थुप्रै ठाउँहरु ओझेलमा छन् । पर्यटन काठमाडौं आउने, त्यसपछि पोखरा र चितवन जाने गरेका छन् । यसले नेपालको समग्र पर्यटन क्षेत्रको विकास हुन सक्दैन ।


नेपालमा भिसा प्रक्रिया र विमानस्थलमा पर्यटकले झन्झट व्यहोर्नु परेको खबरहरु सार्वजनिक हुने गरेका छन् । तपाइँहरुसमक्ष आइपुग्ने पर्यटकहरुको गुनासा के कस्ता छन् ?


नेपालको भिसा प्रक्रिया सजिलो छ । तर यसमा नीतिगत मेकानिजम झन्झटिलो छ । पर्यटक एयरपोर्टमा आउनुहुन्छ त्यहाँ चेकिङमा मेसिन राखिएको हुन्छ । तर त्यो मेसिनले कहिले काम गर्छ, कहिले गर्दैन् । यस्ता स–साना समस्याहरु धेरै छन् । टेक्नोलोजीले धेरै कुरामा सजिलो त बनाइदिएको छ तर नेपालमा प्रविधिको समस्या हरेक क्षेत्रमा उस्तै छ । यसमा राज्यले विशेष ध्यान दिएर हेर्नुपर्छ । एयरपोर्टमा हुने सास्तीप्रति सरकारको ध्यान जानुपर्छ ।

होटल व्यवसायको लागि सरकारले के गरे राम्रो हुन्छ ?


होटलहरुलाई उद्योगको मान्यता दिनुपर्छ । यसमा श्रमका कुराहरु होलान्, टे«ड युनियनका कुराहरु होलान्, अरु विषयहरु होलान् तर यसलाई सहज बनाउन जरुरी छ । समस्याहरुलाई सरकारले बाटो फुकाल्ने कामहरु गर्न जरुरी छ । यसैगरी प्राइभेट सेक्टर, जिएम फोरमदेखि लिएरसबै कुरामा हामीले काम गर्दा भएका समस्याहरु नीतिगत चुनौतिहरु सरकारलाई सुनाउने गरेका छौं । सरकारबाट नीतिगत र कानूनसम्मत कुराहरुलाई थोरै परिवर्तन गरिदियो भने राम्रो हुन्छ ।

पर्यटन बोर्डको गतिविधि सुस्त भएजस्तो लाग्दैन् ?


यसमा राजनीतिक नियुक्ति कै कुरा हो । प्रमुख नियुक्तिमा अलमल हुँदा धेरै कामहरु अवरुद्ध भएका छन् । बोर्डलाई राजनीतिक हस्तक्षेप मुक्त राख्नुपर्छ । विशुद्ध रुपमा नीजि क्षेत्रदेखि सबैको प्रतिनिधित्व हुने गरेर लानसक्ने संस्थाको रुपमा विकास गर्नुपर्छ । यतिबेला पर्यटन बोर्डले राम्रो मान्छे(दिपकराज जोशी)पाएको छ । काम राम्रो होला भन्ने अपेक्षा गरौं ।


नेपालमा टे«किङ्को जुन संभावना थियो र छ । पछिल्लो समय विकासका पूर्वाधारहरुले असर पारेजस्तो लाग्दैन् ?


जथाभावी डाँडामा डोजर लगाउने प्रवृत्तिले एकदमै यसलाई प्रभाव पारेको छ । टे«किङ् रुटहरुमा बाइक, गाडी गुडाउने काम राम्रो होइन् । विशुद्ध नै हुनुपर्छ । डाँडाहरुलाई सुरक्षित गर्नुपर्ने ठाँउमा जथाभावी बाटो खोल्दा समस्या भएको छ । जसका कारण प्राकृतिक विपद् पनि निम्ताएको छ । प्राकृतिक सुन्दरतालाई विकासका नाममा कुरुप बनाइनु राम्रो होइन् । होमस्टेहरु पनि उद्देश्य चलाउन सक्नुपर्छ ।


होटलमा एमआरपीको समस्या छ भन्छन् । यसमा केही सुधार गर्न सकिदैन् ?

एमआरपीमा खानेपानीलगायत अन्य सेवा सुविधाका कुराहरु आउँछन् । एमआरपी नै लागू गर्न मिल्छ जस्तो मलाई लाग्दैँन् । त्यसमा लगानी परेको हुन्छ त्यसैले वैज्ञानिक हुन आवश्यक छ । कहीं पानीको मूल्य एकदमै माथि छ भने कतै कम पनि छ । तर बाँकी कुरामा एमआरपीले त्यस्तो असर गर्दैन् ।


अब कुन कुन क्षेत्रमा अलि बढि सुधार गर्न सक्यो भने नेपालको पर्यटनले गति लिन सक्छ ?


पहिलो कुरा एरलाइन्स नै हो । किनभने हामी इयूको कालोसूचीमा परेका छौं । अझै पनि त्यहाँबाट निस्किन सकेका छैनौ । यसमा ढिला भइसक्यो । पहिला हामी उड्ने आकाश खुल्ला हुनुपर्छ, ब्यान्ड हुनुहुदैँन् । यसलाई हटाउनको लागि सुरक्षाको उपाय अपनाउन जरुरी छ । मापदण्ड पुरा गर्नेतर्फ लाग्नुपर्छ । अहिले जहाज ल्याएर मात्र हुँदैन् पहिला कालोसूचीबाट हट्नुपर्छ ।
त्यसपछि पूर्वाधार राम्रो हुनुपर्छ । सडक वा बाटोको अवस्था राम्रो छैन् । यसलाई मध्यनजर राखेर काम गर्नुपर्छ । पर्यटन असर पर्दा मुलुकको पूरा अर्थतन्त्रमा यसले प्रभाव पार्छ । यसमा ध्यान दिनुपर्छ । अर्को कुरा मान्छे विदेश बसेर सिकेको ज्ञानलाई नेपालमा नै काम गरेर बस्नसक्ने अवस्था सिर्जना गर्नुपर्छ ।

नेपाल सुरक्षित गन्तब्य हो भन्ने सन्देश गएको छ तर हवाई र यातायातको साधन दुर्घटनाका कारणले नकरात्मक छाप बसेको छ । यसलाई पहिलो प्राथमिकता दिएर सुधार गर्नुपर्छ । पर्यटन बोर्डले नेपाललाई अन्तर्राष्ट्रिय जगमा जुन तरिकाले प्रचार गर्नुपर्ने हो त्यो भएको छैन् । विदेशमा रहेका नेपालीहरुमा लगानी गर्ने मनसाय भएपनि लगानीमैत्री नीतिको अभाव छ ।

प्रकाशित : ७ पुष २०८१, आईतवार १२:२१