‘पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान’ नेफ्स्कुनकी पूर्वमहासचिव पम्फा राईलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

‘पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान’ नेफ्स्कुनकी पूर्वमहासचिव पम्फा राईलाई



काठमाडौं  १ बैशाख । हरेक बर्ष नयाँ बर्षको दिन सहकारी क्षेत्रमा उल्लेखनीय योगदान दिनेहरुलाई सम्मान गर्दै आएको पेस्सिकोलास्थित पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले यस बर्षको ‘पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान’ पम्फा राईलाई प्रदान गरेको छ ।

शुक्रबार आयोजित संस्थाको नवौं बार्षिकोत्सवमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकी संस्थापक महासचिव एवं अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था, काठमाडौंकी अध्यक्ष राईलाई सम्मान गरेको हो ।

संघले विगतमा सहकारी क्षेत्रका अगुवाहरु दीपक बास्कोटा, सरोज शर्मा, ऋषिराज घिमिरेसहित आठ जनालाई सम्मान गरिसकेको छ । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले राईलाई पुरस्कार प्रदान गरेका थिए ।

पूर्वअर्थमन्त्री एवं संसदको अर्थसमितिद्धारा गठित सहकारी ऐन संशोधनसम्वन्धी सुझाव दिन गठित उपसमितिका संयोजक भरतमोहन अधिकारीले संविधानमा भएको तीनखम्बे अर्थनीति र सहकारीको भावनाअनुसार यससम्वनधी ऐन संशोधन हुने बताए ।

उनले सहकारी आर्थिक संवृद्धिको सशक्त माध्यम हो भन्दै यस क्षेत्रको योगदानलाई संकुचित बनाउने गरी सहकारी ऐन नआउने बताए । अधिकारीले सहकारीको व्यवस्थित सञ्चालन र नियमनका लागि सहकारीमा लागेकाहरु आफै इमान्दार हुनुपर्ने बताए ।

राष्ट्रिय सहकारी संघका पूर्वअध्यक्ष दीपक बास्कोटाले सहकारीलाई राजनीति गर्ने माध्यम बनाइएको भन्दै त्यस्ता मानिसहरुले सहकारी आन्दोलनलाई बदनाम गरेको बताए । उनले सहकारीप्रतिको नकारात्मक सोचमा परिवर्तन हुनु जरुरी रहेको भन्दै यसलाई खुम्चाउने गरी कानुन बनाएर मुलुकको हित नहुने बताए ।

पाँचतारा सहकारीका अध्यक्ष भोलानाथ पाठकले सहकारीले शहरदेखि ग्रामीण क्षेत्रसम्मको अर्थतन्त्र चलायमान बनाउन ठूलो योगदान दिए पनि यस क्षेत्रको विकासबाट खुशी हुन नसकेकाहरुले विकासको गतिलाई रोक्न खोजेको बताए ।

उनले आफूहरुले आफ्ना ज्येष्ठ सदस्यहरुको लागि ज्येष्ठ नागरिक कल्याणगृह बनाउन लागेको र सहकारी शिक्षालाई बढाउन लागेको जानकारी दिए । पाठकका अनुसार संस्थाले गएको पुससम्म एक करोड २० लाख रुपियाँ मुनाफा हासिल गरेको जानकारी दिए ।

दुई हजार पाँचसय सदस्य रहेको यस सहकारीको पुँजी पाँच करोड चार लाख, बचत ३६ करोड र जगेडा कोषमा छ करोड रुपियाँ रहेको जनाइएको छ ।

प्रकाशित : १ बैशाख २०७४, शुक्रबार १६:५२