बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अथिति भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी रहेका थिए ।
सभाको उद्घाटन गर्दै मन्त्री अधिकारीले सहकारी स्वःनियमन र स्वः अनुशासनमा सञ्चालन हुने संस्था भनिए पनि व्यवहारमा त्यो नदेखिएको बताए । सहकारीमा स्वःनियमन र स्वायतत्ता भएपनि सहकारी त्यसअनुसार सञ्चालन नभएपछि सरकारले बाध्य भएर दोस्रो तहको नियामक निकाय गठन गर्नुपरेको बताए । मन्त्री अधिकारीले भने,‘धेरै पटक सहकारी संस्थाको प्रभावकारी नियमनको लागि शक्तिशाली नियामक बनाउने कुरा उठे पनि त्यो हुन सकेको थिएन, अहिले भने अन्तिम चरणमा पुगेको छ, ऐनमा नै सहकारीमा दोस्रो तहको नियामक निकाय गठन गर्ने भन्ने विषय थपिएर उक्त निकाय गठन गर्न लागिएको छ ।’
सहकारी ऐन ल्याएको छोटो समयमा नै फेरि ऐन संसोधनको प्रक्रिया अगाडि बढाइएकाले के के बुँदामा संसोधन गर्नुपर्ने हो, अभियानको तर्फबाट सो उपलब्ध गराउन उनले आग्रह गरे । मुलुकभर ३१ हजार सहकारी संस्था भने पनि त्यसको यकिन डाटा कोहीसँग नभएको भन्दै मन्त्री अधिकारीले भने,‘कतिपय सहकारी संस्था विशेष उदेश्यले गठन भएको र उदेश्य पुरा भएपछि बन्द भएको पनि हुनसक्छ । ती संस्थाको कार्यालय कहाँ छ? हरेक बर्ष अपडेट भएका छन् कि छैन। ती सबै कुरा अध्ययन नगरी ३१ हजार सहकारी भन्नु राम्रो हँुदैन । सहकारीको यकिन तथ्याङक सरकार र अभियान दुबैसँग छैन, अब पालिक, प्रदेश र संघबाट सहकारीको वास्तविक तथ्याङ्क निकाल्नुपर्छ ।’
संसदीय छानविन समितिको प्रतिवेदनले केहि विषयमा दोहोरो कुरा गरेकाले मन्त्रीपरिषद्को बैठकबाट किटान गरेर अगाडि बढ्ने उनले बताए । सहकारीको समस्या बुझ्न विज्ञ समिति बनाएको र उक्त समितिले सातै प्रदेशका सहकारीहरुको समस्या अध्ययन गर्ने उनले जानकारी दिए ।
मुलुकमा बचत तथा ऋण बाहेकका समेत सहकारी संस्था रहेकाले बचत ऋण सहकारी मात्रै राम्रो भएर अभियान बलियो नहुने भएकाले सबै प्रकृतिका सहकारी राम्रो हुनुपर्नेमा उनको जोड छ । वित्तीय सहकारीले राम्रो काम गरे पनि अन्य सहकारीले गलत गरे भने अभियान नजोगिने भन्दै उनले सबै प्रकृतिका सहकारी संस्था राम्रो बनाउनुको विकल्प नरहेको उल्लेख गरे ।
सहकारीलाई अर्थतन्त्रको तीन मध्ये एक खम्बाको रुपमा लिएको र सामान्य जनतालाई जोड्ने माध्यम नै सहकारी भएकाले यसको विकल्प नभएको उनको भनाई छ । सरकार र अभियानबीच समन्वय आवश्यक रहेको भन्दै मन्त्री अधिकारीले त्यो बिना अभियान अगाडि बढ्न नसक्ने प्रष्ट पारे ।
कार्यक्रमको विशिष्ट अथितिको रुपमा बोल्दै राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडालले पञ्चायतकालमा सरकारले साझा सहकारीमा ठुलो लगानी गरेको भए पनि राज्य नियन्त्रित सहकारी सफल नभएको बताए । स्वायतत्ता र स्वतन्त्रता बिना कुनै पनि देशको सहकारी अभियान सफल नभएको भन्दै बडालले भने,‘दक्षिण कोरिया,जापान, ताइवान, सिंगापुर जस्ता धेरै राष्ट्रले सहकारीलाई स्वायत्तरुपमा सञ्चालन हुन दिए र ती देशमा अभियान राम्रो भयो । तर फिलिपिन्समा सरकार नियन्त्रित सहकारी भएकाले सही गति लिन सकेन र सन् २००९ मा सरकारले खुकुलो नीति लियो । त्यसैले स्वायतत्ता र स्वतन्त्रता सहकारीको मुटु भएकाले त्यो विना अभियान सफल हुँदैन ।’
सहकारीको मूल्य मान्यता, सिद्धान्त, दर्शन र आचरणलाई नमान्नेहरु सहकारीको किरा भएको उनको भनाई छ । कतिपयले आफ्नो लाभ र सदस्यको लाभका लागि भन्दै ती कुरालाई पालना नगर्दा अहिलेको समस्या आएको उनले प्रष्ट पारे । सहकारीमा सरकार र अभियानको सयुक्त अनुगमन आवश्यक रहेको र त्यो भएन भने नयाँनयाँ समस्या आउने उनको भनाई छ ।
त्यसैगरी महासंघका निवर्तमान अध्यक्ष मिनराज कँडेलले सभामा शुभकामना मन्तव्य राख्दै बागमती प्रदेशमा करिव ११ हजार सहकारी संस्था रहेको र त्यस मध्ये ५ हजार संस्था बचत ऋणका रहेकाले सबै संस्थाहरुलाई संघमा आवद्ध गर्न लाग्नुपर्ने बताए । नीति, विधि र प्रविधिका साथै संस्थागत विकास गरी संस्थाहरुलाई सुसशासनमा सञ्चालन गर्न संघले भूमिका खेल्नुपर्नेमा उनको जोड छ । भोलीका दिनमा सहकारीमा समस्या आउन नदिन सरकार र अभियानसँगै जानुपर्ने र त्यसका लागि नीतिगत व्यवस्थालाई कार्यान्वयन गरेर लैजानुपर्ने उनले औंल्याए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का अध्यक्ष चन्द्र ढकालले सहकारी ऐन पूर्ण कार्यान्वयन भए आफू अनुकुल कारोबार गर्ने संस्थाहरुलाई निरुत्साहित गर्न सकिने बताए । सहकारीमा म र मेरो भन्ने कुरालाई निरुत्साहित गर्र्दै सदस्यको अभियान बनाउन सबै लाग्नुपर्नेमा उनको जोड छ । समाजमा सहकारीको अर्को विकल्प नभएको भन्दै अध्यक्ष ढकालले गलत गर्नेलाई निरुत्साहित गर्दै राम्रा संस्थाहरुको प्रवर्धन गरेर जानुपर्ने बताए । संरचनागत एकरुपताको व्यवस्था गरेर जान सके नेफ्स्कून सिंगो बचत ऋण अभियानको जिम्मा लिन तयार रहेको उनको भनाई छ ।
सभामा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरि बजगाईले समाजमा सहकारीप्रति नकारात्मक धारणा विकास भएकाले सबै पक्ष मिलेर त्यसलाई चिर्न आवश्यक रहेको औंल्याए । सुशासनयुक्त संस्था निर्माण गरी सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा सबै लाग्नुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले बागमती प्रोस्कूनले संस्थाहरुलाई संगठित गरी सुशासान कायम गर्न र स्तरिकरण गर्न ठूलो भूमिका खेलेको जनाए । बागमती प्रदेशमा नै सबै भन्दा धेरै सहकारी संस्था रहेको राम्रो कामसँगसँगै विकृति पनि यहाँ बढी रहेको उनको भनाई छ । सबै मिलेर सहकारी क्षेत्रको समस्या समाधान गर्नुपर्ने उनको भनाई छ ।
Comment