राष्ट्रिय सहकारी महासंघले कार्तिक ११ र १२ गते ‘सहकारी सवाल सम्बन्धी नीति संवाद’ गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी महासंघले कार्तिक ११ र १२ गते ‘सहकारी सवाल सम्बन्धी नीति संवाद’ गर्ने



काठमाडौं । सहकारी क्षेत्रका समस्याहरूको समाधान र नीतिगत सुधारका लागि राष्ट्रिय सहकारी महासंघले ‘सहकारी सवाल सम्बन्धी नीति संवाद’ गर्ने भएको छ।

कार्तिक ११ र १२ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने कार्यक्रमको तयारी पुरा भएको महासंघले जनाएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य सहकारी क्षेत्रको हालको नीतिगत र कानूनी अवस्थाको समीक्षा गर्दै यसलाई देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बा बनाउन आवश्यक सुधारहरू पहिचान गर्नु रहेको महासंघकी अध्यक्ष ओमदेवी मल्लले बताईन ।

विद्यमान कर्जा सूचना केन्द्र र निक्षेप तथा कर्जा सुरक्षण कोषमा सहकारीलाई समावेश गर्ने तथा सहकारीहरूको नियमन र सुपरिवेक्षण निकाय (एसटीआई) गठन सम्बन्धी विषयमा भएको सहमतिलाई अघि बढाउन यो संवाद अपरिहार्य रहेको उनको भनाई छ ।

‘वर्तमान समयमा बचतकर्ता सदस्यहरूको आन्दोलन, ठगीका घटनामा उच्च पदस्थ व्यक्तिहरूको संलग्नता, ऋण असुलीको समस्या र बचत रकमको दुरुपयोगका घटनाहरू बाहिर आएका छन् । यी विषयहरु मात्र उजागर हुँदा सहकारी अभियानले सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदानको उपेक्षा भएको छ’, मल्लले भनिन्, ‘यसर्थ समुदायमा आधारित सहकारीका असल अभ्यासहरूलाई समेत कार्यक्रमले उजागर गर्ने हाम्रो विश्वास छ ।’

कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधिहरू, सहकारी अभियन्ताहरू, नियामक निकायहरू, नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरू, राजनीतिक दलका नेताहरू र सातै प्रदेशका सहकारीकर्मीहरूको सहभागिता रहनेछ ।

छलफलका प्रमुख विषयहरूमा सहकारी ऐन र नियमावलीको संशोधन, स्वनियमन र सुशासनमा सुधार, सहकारीहरूको तहगत संरचना, कोप भिजन २०३०, सहकारीमा वित्तीय र व्यवस्थापकीय सवाल र सम्बोधन रहेका छन् ।

भर्खरै सार्वजनिक भएको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानविन प्रतिवेदनमा सहकारी क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउन निर्देशन दिइएको छ, जसलाई नीति संवादमा गहन छलफल गरिनेछ । यो संवादले सहकारीहरूको दिगोपना र पारदर्शिताका लागि ठोस नीतिगत उपायहरू पहिचान गर्ने विश्वास महासंघको रहेको मल्लले बताईन ।

प्रकाशित : ९ कार्तिक २०८१, शुक्रबार ०७:४२