उपभोक्ता मूल्य सूचकांकको आधार वर्ष परिवर्तन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

उपभोक्ता मूल्य सूचकांकको आधार वर्ष परिवर्तन



काठमाडाैं । नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकको आधार वर्ष परिवर्तन गरेको छ । बैंकले नेपालको मुद्रास्फीति गणना गर्न प्रयोग हुने राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्कलाई आधार वर्ष २०७१/७२ बाट २०८०/८१ मा अद्यावधिक गरेको छ ।

समयको अन्तरालसँगै अर्थतन्त्रको संरचनामा परिवर्तन आउने हुँदा उपभोक्ताको खर्च प्रवृत्तिमा परिवर्तन हुने, नयाँ वस्तु तथा सेवाहरु बजारमा देखापर्ने, विद्यमान वस्तुहरुको गुणस्तरमा परिवर्तन आउने एवम् बजार विस्तार भइरहेको आधारमा यस बैंकले मूल्य सूचकाङ्कको आधार वर्षलाई अद्यावधिक गरेको हो । मूल्य सूचकाङ्क प्रकाशन गर्न थालेदेखिको यो छैटौँ आधार वर्ष परिवर्तन हो । नयाँ आधार वर्षमा आधारित सूचकाङ्कले उपभोगको प्रवृत्तिलाई बृहत् रूपमा समेट्नुका साथै अन्तर्राष्ट्रिय अद्यावधिक अभ्यासहरुलाई अनुसरण गरेको छ ।

विगतका वर्षमा नेपाल राष्ट्र बैंकले पारिवारिक बजेट सर्वेक्षणको आधारमा वस्तु तथा सेवाको डालो र भाराङ्क निर्धारण गर्दै आएकोमा यस वर्षबाट नेपाल सरकार, राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको नेपाल जीवनस्तर सर्वेक्षणको तथ्याङ्कका आधारमा वस्तु तथा सेवाको डालो र भाराङ्क निर्धारण गरेको जनाएको छ । नेपाल जीवनस्तर सर्वेक्षणबाट प्राप्त स्रोतहरूको उपयोग हुनुका साथै तथ्याङ्कहरुबीच सामञ्जस्य कायम गर्न सहयोग पुगेको छ ।

नयाँ उपभोक्ता मूल्य सूचकाङ्कको डालोमा ५ सय २५ वटा वस्तु तथा सेवाहरु समावेश गरिएको छ । अहिले देशको ७७ जिल्लाको ८७ वटा बजार केन्द्रबाट मूल्य संकलन गरिएको छ जबकि पहिला ५० जिल्लाका ६० वटा बजार केन्द्रबाट मूल्य संकलन गर्ने गरिन्थ्यो । प्रादेशिक संरचनामा गइसकेपछि राष्ट्र बैंकले सातै प्रदेशको उपभोक्ता मूल्य सूचकांक गणना गरेको जनाएका छ भने असर अन्तर्राष्ट्रिय अभ्यासका आधारमा विभिन्न गणना विधिहरुमा सुधार गरिएको छ ।

प्रकाशित : १० आश्विन २०८१, बिहीबार १४:५६