काठमाडौं २७ चैत । सिमेन्ट उद्योगीहरु सिमेन्टको भाउ घटाउने सम्बन्धमा पुनरबिचार गर्न सहमत भएका छन् । उद्योग मन्त्री नविन्द्रराज जोशीले गरेको आग्रह अनुसार उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य परिमार्जन गर्न उद्योगी सहमत भएका हुन् । यस अघि उद्योग मन्त्रीले गरेको आग्रहलाई आत्मसाथ गर्दै नेपाल सिमेन्ट उद्योग संघले वृद्धि गरिएको मूल्यमा पुर्नविर्चार गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।
उद्योग मन्त्री नवीन्द्रराज जोशीले पुनर्निर्माणको प्रथम चरण भरखरै शुरु भएकाले सिमेन्टको मूल्य बढाउँदा पुनरनिर्माण प्रभावित हुने भने पछि उद्योगीहरु उद्योग मन्त्रीको प्रस्तावमा सकारात्मक बनेका हुन् । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले नेपाली सिमेन्टहरुको उत्पादन लागत दक्षिण एसियाली राष्ट्रमा सबै भन्दा महंगो भएको भन्दै मूल्य परिमार्जनमा पुनरबिचारका लागि संघमा आबद्ध सिमेन्ट उद्योगीलाई पत्राचार गरिने बताएका हुन् ।
नेपाली सिमेन्ट उद्योगको उत्पादन लागतलाइ कम गरि प्रतिस्पर्धी मूल्यमा गुणस्तरिय सिमेन्ट उपलब्ध गराउने सम्बन्धमा अध्ययन गर्न उद्योग मन्त्रालयका सह सचिव गोपीकृष्ण खनालको संयोजकत्वमा अर्थ मन्त्रालय, सिमेन्ट उत्पादक संघका प्रतिनिधि र विज्ञ सदस्य समेत रहेको एक अध्ययन समिति समेत गठन गरिएको मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
समितिले सरकारलाई नेपाली सिमेन्ट उद्योगको उत्पादन लागत कम गर्न सकिने बिषयमा आवश्यक सुधारका सम्वन्धमा सुझाव दिने बताइएको छ । अन्तराष्ट्रिय बजारमा कोईला र क्लिङ्गकरको मूल्य वृद्धि भएको भन्दै केही नेपाली सिमेन्ट उत्पादकहरुले आफ्नो उत्पादनमा प्रतिवोरा २० रुपैंया देखि ३० रुपैंयासम्म मूल्य वृद्धि गरेको समाचार वाहिर आएपछि गत विहीवार उद्योग मन्त्री नवीन्द्राज जोशीले नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्षलाई मन्त्रालयमा बोलाएर मूल्य वृद्धिको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका थिए ।
नेपाली सिमेन्ट उद्योगलाई प्रतिस्पर्धी बनाई निर्यातमुखी बनाउन उद्योग मन्त्रालयका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफु तत्पर रहेको मन्त्री जोशी सिमेन्ट उद्योगीलाई आश्वासन दिएका थिए ।
Comment