शुभप्रवा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभको १५ औं बार्षिक साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

शुभप्रवा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभको १५ औं बार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । चावहिलको चुच्चेपाटीमा रहेको शुभप्रवा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न संस्थाको साधारण सभामा संस्थाका अध्यक्ष बिदुर बस्नेतको सभापतित्व तथा प्रमुख अतिथि रक्षामन्त्री मानबीर राई रहेका थिए ।

सभामा बोल्दै अध्यक्ष बस्नेतले समग्र अर्थप्रणाली समस्याग्रस्त भएको अवस्थामा सम्हालिएर सुझबुझका साथ बचत संकलन तथा कर्जा लगानी गरेकाले बचतकर्तालाई कुनै शर्तबन्देज नराखी बचत फिर्ता दिन सकेको जनाए। भविष्यमा आउनसक्ने जोखिमलाई मध्यनजर गर्दै होशियारी र जिम्मेवारीपूर्वक गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने र सदस्यको बचतको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।

सभामा प्रमुख कार्यकारी अधिकृत फडिन्द्र कुमार खड्काले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले वित्तीय संकट र सहकारी क्षेत्रमा देखिएको बचत अपचलनका घटना बढिरहेको भएपनि संस्थाले सदस्यको विश्वास जितेका कारण क्रमशः बचत संकलनमा वृद्धि भएर गएको बताए ।

संस्थाले गत आर्थिक वर्ष २०८० / ८१ माा बचत संकलनमा १७.४० प्रतिशतले वृद्धि गरी ५७ करोड ४० लाख ६१ हजार र्पुयाएको जनाए । अघिल्लो वर्षको तुलनामा बचतमा ९ करोडले वृद्धि भएको जानकारी दिए । संस्थाले शेयरपुँजी, जगेडा तथा अन्य कोषहरु पनि वृद्धि गर्दै लगेको छ ।

त्यसैगरी संस्थाले गत आर्थिक वर्ष २०८० / ८१ मा शेयर पुँजीमा २.८४ प्रतिशतले वृद्धि गरी ९ करोड १८ लाख ९५ हजार पुर्याएको छ भने कुल सम्पति १०.९५ प्रतिशतले वृद्धि भएर ८२ करोड ३९ लाख १४ हजार पुगेको छ । संस्थाले गत आर्थिक वर्षमा ५३ करोड ११ लाख ४६ हजार कर्जा लगानी गरेको छ । कर्जा लगानी अघिल्लो आर्थिक वर्षको तुलनामा २.८४ प्रतिशतले कमी भएको छ । उनले गत आर्थिक वर्षमा कर्जा विस्तार भन्दा पनि असुलीमा विशेष जोड दिएको बताए ।

संस्थाले गत आवमा ६५ लाख २१ हजार संचालन मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाले १ करोड ११ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो । मुलुकमा वित्तीय संकटका साथै सहकारी संस्थाहरुप्रति पूर्ण विश्वासको बातावरण बनिनसकेका कारण सहकारीहरुले अधिक तरलता व्यवस्था गरी राख्नुपर्ने भएकाले सञ्चालन मुनाफा घट्न गएको प्रमुख खड्काले जानकारी दिए ।

चालु आर्थिक वर्षका लागि लक्ष्य तथा कार्यक्रम प्रस्तुत गर्दै उनले २०८१ असार मसान्तसम्मा शेयर पुँजी १० करोड, बचत संकलन ७७ करोड, कर्जा लगानी ७५ करोड सहित अनुमानित मुनाफा २ करोड ५ लाख पुर्याउने योजना रहेको बताए ।

संस्थाका लेखा सुपरीवेक्षमण समितिको तर्फबाट वार्षिक प्रतिवेदन पेश गर्दै संयोजक सुन्दर खड्काले कर्जा लगानी गर्दा सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्ने, सामुहिक जमानीको ऋण लगानीलाई क्रमशः घटाउँदै लैजानुपर्ने र संस्थाको विनियम बमोजिम ऋणको वर्गिकरण गरी शंकास्पद र खराब ऋण छुट्याई कडाइकासाथ ताकेता गरी असुली गर्नुपर्ने सुझाव दिएका थिए ।

संस्थाले वित्तीय कारोबारका साथसाथै संस्थागत सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आएको छ । विभिन्न संस्थासँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर, औषधी वितरण, सरसफाई तथा वृक्षारोपण कार्यक्रम गर्दै आएको साधारणसभामा जानकारी दिइयो । संस्थाले सदस्यहरुलाई समयसापेक्ष वित्तीय सेवा प्रदान गर्न एटिएम, मोबाइल बैंकिङ, क्यूआर पेमन्ट, फण्ड ट्रान्सफर लगायतका विविध सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित : ७ आश्विन २०८१, सोमबार ११:१७