एकीकृत फ्रेण्डसिप साकोसको ४० विद्यार्थीलाई ‘फ्रेण्डसिप शैक्षिक सम्मान’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एकीकृत फ्रेण्डसिप साकोसको ४० विद्यार्थीलाई ‘फ्रेण्डसिप शैक्षिक सम्मान’



दोलखा । जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले ४० विद्यार्थीलाइ ‘फ्रेण्डसिप शैक्षिक सम्मान’ गरेको छ । संस्थाले वार्षिक कार्ययोजना अनुसार गत बर्ष एसईई तथा कक्षा १२ मा समावेस भई उत्कृष्ट अङ्क सहित उत्तिर्ण हुने संस्थाका सदस्य तथा बाल बचतकर्ताहरुलाई सम्मान गरिएको हो ।

संस्थाको मुख्य कार्यालय तथा काठमाण्डौ सेवा केन्द्रबाट विद्यार्थीहरुलाई उक्त सम्मान प्रदान गरिएको थियो । संस्थाले ३.२१ जिपिए ल्याई उत्तिर्ण हुने ४० जना विद्यार्थीलाई सम्मान गरेको छ । फ्रेण्डसिप शैक्षिक सम्मान अन्तर्गत संस्थाले ३.२१ जिपिए सहित उत्तिर्ण हुने विद्यार्थीहरुलाई ३ हजार नगद र मायाको चिनो सहित सम्मान गर्दै आएको छ ।

काठमाडौँ सेवा केन्द्रमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेतको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष भुमिराज खड्काको सभापतित्व रहेको थियो । त्यसैगरी मुख्य कार्यालयमा संस्थाका उपाध्यक्ष केदारबहादुर जिरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा सस्थाका पदाधिकारी तथा सञ्चालक समिति सदस्य, सेवा केन्द्र सञ्चालन उपसमिति सदस्य, संस्थाका प्रमुख कार्यकारी अधिकृत, विभिन्न विभागीय प्रमुख, सदस्य लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाको प्रविधी सञ्चालन तथा वित्तीय साक्षरता सम्बन्धी समेत प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रमको सञ्चालन मुख्य कार्यालयमा प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्री र काठमाडौँ सेवा केन्द्रमा नायव प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले गरेका थिए ।

प्रकाशित : ४ आश्विन २०८१, शुक्रबार १४:५६