बैंकिङ्ग प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकिङ्ग प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक



काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा अधिक तरलता भए पछि आज पनि ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । स्थायी निक्षेप सुविधा (एसडीएफ) मार्फत् नियमितरूपमा तरलता खिचिरहेको राष्ट्र बैंकले बुधबार निक्षेप संकलन उपकरण मार्फत थप ४० अर्ब तरलता खिच्ने भएको हो ।

अघिल्लो दिन मंगलबार मात्रै स्थायी निक्षेप सुविधा (एसडीएफ) अन्तर्गत प्रणालीबाट १ खर्ब ७५ अर्ब ७० करोड रुपैयाँ उठाएको राष्ट्र बैंकले बुधबार २१ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ बोलकबोल गर्ने भएको हो । बोलकबोलमा मध्यान्ह ३ बजेसम्म अनलाइनमार्फत सहभागी हुन सकिनेछ । जसको सावाँ र ब्याज भुक्तानी असोज १६ गते हुनेछ ।

ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । यस अघि गत आइतबार निक्षेप संकलनमा भएको बोलकबोलमा औसत ब्याजदर २.९४९७ प्रतिशत कायम भएको थियो । आज हुने बोलकबोलमा बैंकहरूले घटीमा १० करोड र बढीमा ५ करोडले भाग जानेगरी बोलकबोल हुने रकमसम्मको आवेदन दिन सक्नेछन् ।

उक्त उपकरण राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग धितो राख्न सकिने केन्द्रीय बैंकले जनाएको छ । वित्तीय बजारमा अधिक तरलता रहेको अवस्थामा बजार ब्याजदरलाई व्यवस्थित गर्न आवश्यकता अनुसार राष्ट्र बैंकले आफ्ना काउन्टरपार्टीहरूबाट संकलन गरिने निक्षेप उपकरण नै निक्षेप संकलन उपकरण हो ।

यसअघि भदौ २५ गते मंगलबार मात्रै राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा अन्तर्गत प्रणालीबाट १ खर्ब ७५ अर्ब ७० करोड रुपैयाँ उठाएको छ। यसमा बैंकहरूले ३ प्रतिशत ब्याजदर पाउँछन् । भदौ २६ गते बुधबारसम्म स्थायी निक्षेप सुविधा (एसडीएफ) र निक्षेप संकलनको गरेर बैंकहरुले राष्ट्र बैंकमा जम्मा गरेको २ खर्ब ८९ अर्ब ५० करोड रुपैयाँ फिर्ता हुन बाँकी नै छ ।

प्रकाशित : २६ भाद्र २०८१, बुधबार १२:४८