एक्सेस ब्राण्ड पाउने नेपालको एक मात्र सहकारी बन्यो ‘जनउत्थान’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एक्सेस ब्राण्ड पाउने नेपालको एक मात्र सहकारी बन्यो ‘जनउत्थान’



काठमाडाैं । रुपन्देहीको कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले ‘एक्सेस ब्रोञ्ज ब्रान्ड’ प्राप्त गरेको छ । एसियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा नेफ्स्कूनद्वारा प्रर्वदित साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तराष्ट्रिय मापदण्डको एवन कम्पेटिटिभ च्वाइस फर एक्सेलेन्स सर्भिस एण्ड साउन्डनेस (एक्सेस) कार्यक्रममा आवद्ध जनउत्थानले ब्राण्ड प्राप्त गर्न सफल भएको हो ।

एसियाली ऋण महासंघ (अकू) ले इन्डोनेसियाको बालीमा जारी अकू फोरम २०२४ मा संस्थालाई ब्राण्ड प्रदान गरेको हो । अकूका अध्यक्ष योनसुक किम र प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोके (लेनी)ले जनउत्थान साकोसका कार्यवाहक अध्यक्ष गिरीप्रसाद पुन र प्रमुख कार्यकारी अधिकृत रणबहादुर थापालाई हस्तान्तरण गरेका थिए ।

यस वर्ष (सन् २०२४–२०२५) एशिया भरबाट ५ वटा सहकारीले मात्रै एक्सेस ब्राण्ड पाएको छ । नेपालबाट ब्राण्ड प्राप्त गर्नेमा जनउत्थान मात्रै रहेको छ । गत वर्ष नेपालबाट जनउत्थान र चण्डेश्वरी साकोसले ब्राण्ड पाएका थिए । गत वर्ष जनउत्थानले सिल्भर ब्राण्ड प्राप्त गरेको थियो । २०७६ सालमा नेपालका २४ वटा सहकारीले एक्सेस ब्राण्ड पाएका थिए ।

संस्थाले ब्राण्ड प्राप्त गरेसँगै ४० हजार सदस्य, सञ्चालक, अग्रज नेतृत्व, लेखा सुपरीवेक्षण समिति, सल्लाहाकार, उपसमिती, कर्मचारीहरु लगायतमा संस्थाका का.व. अध्यक्ष पुनले व्यक्त गरेका छन् । ब्राण्डले सहकारीप्रति सदस्यको विश्वास थप बढ्ने उनको भनाई छ ।

सहकारी संस्थालाई सुरक्षित, बलियो, दिगोरुपमा संचालन गर्न एक्सेस ब्राण्डलाई निकै महत्वपूर्ण सूचक मानिन्छ ।
४० हजार १९० सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनउत्थान मुलुककै एक अग्रणी एवम् उत्कृष्ट सहकारी संस्थाको रुपमा स्थापित छ । जनउत्थान साकोसले नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक, लगायत थुप्रै निकायबाट सम्मान पुरस्कार प्राप्त गरिसकेको छ ।

सदस्य र समुदाय केन्द्रीय वित्तीय गर्दै आएको संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा समेत उल्लेख योगदान पुन्याएको छ । संस्थागत पुँजीलाई प्राथमिकतामा राखेर अगाडि बढेको संस्थामा जगेडा कोषमा मात्रै ३४ करोड पुगेको छ ।

जगेडा कोषलाई क्रमश वृद्धि गर्दै जाने र १ अर्बको कोष पुगेपछि शुन्य प्रतिशत मार्जिनमा सदस्यहरुलाई ऋण लगानी गर्ने लक्ष्य साकोसले लिएको छ । अहिले पनि संस्थाले सदस्यहरुलाई विना प्रशासनिक शुल्क ऋण लगानी गर्दै आएको छ भने सदस्य बन्दा पनि प्रवेश शुल्क नलिने गरको साकोसका व्यवस्थापक रन बहादुर थापाले जानकारी दिए ।

संस्थाले ठुलो ऋणलाई भन्दा पनि सानो ऋणलाई प्राथमिकता दिएका कारण संस्था सुरक्षित रहेको उनको भनाई छ ।
संस्थाले घर निर्माणको लागि बढीमा ५० लाखसम्म ऋण लागनी गर्ने गरेको छ भने व्यापार व्यवसाय र कृषिका लागि दश/पन्ध्र लाखसम्म ऋण लगानी गर्ने गरेको छ । संस्थाले घर निर्माणका लागि ११ प्रतिशत, कृषि तथा व्यापार व्यवसायको लागि १० प्रतिशत र बचत धितोमा ८.५ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने गरेको छ । संस्थाले ससानो ऋणलाई प्राथमिकता दिएको कारण कुल सदस्य मध्ये २७ प्रतिशत अर्थात १० हजार बढीले ऋण लिएका छन् ।

२२ हजार घर धुरीका ४० हजार सदस्य संस्थामा आवद्ध रहेको र त्यसका आधारमा हेर्दा ऋण लिने सदस्यको संख्या ५० प्रतिशत हुन आउने व्यवस्थापक थापाले बताए । एक जना सदस्यले १० हजार भन्दा बढीको शेयर खरिद गर्न नपाउने र नाफाका लागि भन्दा पनि सदस्यलाई सेवा प्रदान गर्ने उदेश्यका संस्था अगाडि बढेको उनको भनाइ छ । संस्थाबाट सदस्यले आर्थिक लाभ नभई सहज र सरल रुपमा सेवा पाउने उनको भनाई छ ।

प्रकाशित : २१ भाद्र २०८१, शुक्रबार ११:४२