ईभीको वृद्धि मुलुकको भविष्यका लागि अत्यन्त लाभदायकः अध्यक्ष उपेन्द्र पौड्याल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

ईभीको वृद्धि मुलुकको भविष्यका लागि अत्यन्त लाभदायकः अध्यक्ष उपेन्द्र पौड्याल



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौड्यालले मुलुकमा विद्युतीय सवारी साधन (ईभी) को वृद्धि मुलुकको भविष्यका लागि अत्यन्त लाभदायक भएको बताएका छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आइतबार आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो धारणा व्यक्त गरेका हुन् ।

पौड्यालका अनुसार, “ईभीको प्रयोगमा भएको वृद्धिले हाल राजस्वमा केही कमी ल्याएको भए पनि दीर्घकालमा पेट्रोलियम पदार्थको आयातमा कमी आउने सम्भावना छ ।” उनले विद्युतीय सवारी साधनको बढ्दो प्रयोगले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई समर्थन गर्ने र देशको उपभोक्ता प्रवृत्तिमा देखिएको परिवर्तनलाई सकारात्मक संकेत मान्नुपर्नेमा जोड दिए ।

ईभीहरूको प्रयोगले वातावरणीय र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गर्दै, पौड्यालले ईभी – आयातकर्ताहरुलाई सवारी साधनको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरे । “उच्च गुणस्तरका ईभीहरूले बैंकहरुलाई १०-१५ वर्षको अवधिमा कर्जा प्रवाह गर्न सहजता ल्याउँछन्,” उनले भने । यसले बैंकिङ क्षेत्रलाई दीर्घकालीन लाभ पुर्याउने र आर्थिक वृद्धिमा योगदान पुर्याउने उनको भनाइ छ ।

प्रकाशित : १७ भाद्र २०८१, सोमबार १२:५७