काठमाडौ २४ चैत ।सेवा विकास बैंकले बिहीबारदेखि पुनः सात लाख ५२ हजार एक सय ५१ कित्ता सेयर लिलामीमा निकालेको छ । यसअघि सेवाले फागुन १७ देखि २३ गतेसम्म संस्थापक समूहको १० लाख ४० हजार एक सय ७१ कित्ता सेयर र सर्वसाधारण समूहको दुई लाख २१ हजार ६०७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । त्यतिबेला संस्थापक समूहबाट आवश्यकता अनुसार आवेदन नपरेपछि बाँकी रहेको सेयर पुनः सर्वसाधारणले समेत भर्न पाउने गरी लिलामीमा ल्याइएको हो ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी आवेदन दिन सक्नेछन् । यसमा अब सर्वसाधारणले पनि बोलकबोल फारम भर्न सक्नेछन् । यो लिलामी सेयरमा लगानीकर्ताले चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा सेवा विकास बैंकको प्रधान कार्यालय पुष्पलाल चोक बुटवलबाट फारम लिन र बुझाउन सक्नेछन् ।
हाल सेवाको चुक्ता पुँजी ५० करोड ६४ लाख १० हजार रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ३० रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ एक सय ३६ रुपैयाँ ६१ पैसा रहेको छ ।
Comment