मोबाइल बैंकिङ्ग मार्फत हुने भुक्तानी साढे तीन खर्ब नाघ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मोबाइल बैंकिङ्ग मार्फत हुने भुक्तानी साढे तीन खर्ब नाघ्याे



काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा विद्युतीय भुक्तानीमा आकर्षण बढ्दो क्रममा रहेको छ । मोबाइल बैंकिङ्ग र क्युआर मार्फत हुने कारोबार निरन्तर बढी रहेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार असार महिनासम्मको अवधिमा मोबाइल बैंकिङ मार्फत साढे तीन खर्ब बढीको भुक्तानी कारोबार भएको छ । पछिल्लो एक बर्षमा दुई करोड ४६ लाख ४८ हजार ८४६ जना मोबाइल प्रयोगकर्ताहरूमार्फत कूल तीन खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ कारोबार भएको हो ।

अघिल्लो वर्षको यसै अवधिमा दुई करोड १३ लाख ६३ हजार ९८९ जना मार्फत दुई खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यसैगरी, समीक्षा अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १९ लाख १९ हजार ३२२ जनाबाट १७ अर्ब ७३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो आर्थिक वर्ष इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १८ लाख ५६ हजार १९५ थियो।

यस अवधिमा आरटीजीएसमार्फत ६४ खर्ब ५१ अर्ब १६ करोड १० लाख रुपैयाँबराबरको भुक्तानी कारोबार भएको छ।

यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११६.१९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको असारमा आरटीजीएस प्रणालीमार्फत २९ खर्ब ८३ अर्ब ९३ करोड रुपैयाँबराबरको भुक्तानी कारोबार भएको थियो। हाल आरटीजीएसमा ४४ वटा बैंक तथा वित्तीय संस्था सहभागी छन् ।

प्रकाशित : ६ भाद्र २०८१, बिहीबार १५:१५