महासंघद्वारा नवनियुक्त सहकारी सचिवको स्वागत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महासंघद्वारा नवनियुक्त सहकारी सचिवको स्वागत



काठमाडौं । राष्ट्रिय सहकारी महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका नवनियुक्त सचिव अर्जुनप्रसाद पोखरेललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै स्वागत गरेको छ । महासंघका अध्यक्ष ओमदेवी मल्लले सचिवलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहकारी अभियानको साझा धारणाको विषयमा जानकारी गराइन् ।

उनले सहकारी ऐन २०७४ मा रहेको कर्जा असुली न्याधिकरण, कर्जा सुचना केन्द्र, बचत तथा कर्जा सुरक्षणको कोषको गठन गर्न पहल भइरहको र त्यसका लागि सचिवबाट सकारात्मक पहल हुने अपेक्षा राखिन् ।

उनले भनिन्,‘अहिले नयाँ ऐन समेत ड्राफ भएको भन्ने सुनिन्छ अभियानलाई जानकारी नहुनु विडम्बना नै हो । अहिले नयाँ ऐन भन्दा पनि यहि ऐन संशोधन गरेर जानुपर्छ भन्ने हाम्रो बुझाई छ ।’

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सहकारीको ऐन कानुन अभियानसँग समन्वय गरेर बन्ने तथा संशोधन हुने बताए । ‘त्यसमा सरोकारवालालाई कतिबेला सहभागिता गराउने भन्ने विषय भने रहन्छ ।’ उनले भने,‘अर्थतन्त्रको एउटा खम्बाका रुपमा रहेको सहकारीलाई कमजोर बनाएर अर्थतन्त्र अगाडि नबढ्ने भएकाले सरकारले यसको समस्या समाधानमा विशेष प्राथमिकता दिएको छ ।’

उनले अर्थतन्त्रका तीनवटै खम्बा सवलीकरण हुनुपर्ने भएकाले आफूले सोहि अनुरुप काम गर्ने बताए । उनले दोस्रो तहको नियामकिय निकायको गठनको विषयमा पनि अभियानसँग बसेर साझा धारणा निर्माण गर्ने बताए । उनले कर्जा असुली न्याधिकरण, कर्जा सुचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोषका विषयमा भइरहेका संरचनासँग सहकार्य गर्न सक्ने अवस्थाको विषयमा समेत सोच विचार गर्न सकिने बताए ।

उनले अभियानसँग निरन्तर छलफलमा रहेर अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । ‘हामी एउटै उद्देश्यमा छौं । सहकारी विना सरकारको गरिवी न्युनिकरणको लक्ष्य हासिल हुन सक्दैन ।’ उनले भने । सचिव पोखरेलले युवालाई आकर्षण गर्ने कार्यलाई पनि सहकारीले अगाडि बढाउन सक्ने औल्याउनुभयो । सो अवसरमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले महासंघको विषयमा प्रस्तुती गरिन् ।

प्रकाशित : २ भाद्र २०८१, आईतवार १८:५६