सहकारी मात्र हैन बैंक पनि समस्यामा पर्छन् सजग बनाैँः गभर्नर अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सहकारी मात्र हैन बैंक पनि समस्यामा पर्छन् सजग बनाैँः गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी संस्थाहरुमात्रै नभएर बैंकहरु पनि समस्यामा पर्न सक्ने बताएका छन् । सहकारी मात्रै नभई यस्तै अवस्था रहने हो भने कुनै पनि बैंक समस्यामा पर्न सक्नेतर्फ ध्यानाकर्षण गराएका हुन् ।

संघीय संसद् प्रतिनिधिसभाको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि भएको छलफलमा आफ्नो धारणा राख्दै उनले सो कुरा बताएका हुन् । त्यस्ता व्यक्तिले कसुर गरेको ठहर्ने गरी व्यवस्था राख्न जरुरी रहेको औँल्याए ।

उनले भने, “एक जना व्यक्तिका पछाडि लाखौँ फलोअर्स छन् । त्यो व्यक्तिले यो बैंक डुब्दै छ, यो बैंक सुरक्षित छ, जस्ता कुरा गरेर बैंकको पैसा नतिरौँ मिनाहा गरिदिन्छु भनेर आह्वान गर्ने र उसका १० हजार फलोअर्सले मात्रै केही समय पैसा तिरिदिएनन् वा बैंकमा लाइन लागे भने बैंकिङ प्रणाली नै कोल्याप्स हुने अवस्था रहेको छ ।”

गभर्नर अधिकारीले उदाहरण दिँदै अहिले नेपालको बैकिङ प्रणालीमा त्यस्तै समस्या परिरहेको पनि बताए । उनले भने, “केही व्यक्तिले यस्तै काम गरिदिँदा गत एक/डेढ वर्षदेखि एक त रिकभरी समस्या भइरहेको छ, कसैले २० लाखसम्म नतिरे हुन्छ भनिरहेका छन्, कसैले पाँच लाख नतिरे हुन्छ भनेर नेतृत्व गरेर हिँडिरहेका छन् । उनीहरूलाई हामीले केही गर्न सक्दैनौँ किनकि हाम्रो वातावरण यस्तै छ । अर्कोतर्फ तिरेनौँ भने हामीले थप लोन किन दिने फेरि फस्ला भनेर बैंक डराइरहेका छन् । यसबारे गम्भीर रूपमा समितिमा छलफल हुन जरुरी छ ।”

प्रकाशित : १ भाद्र २०८१, शनिबार ०६:५६