जीवन बीमा कम्पनीको नाफा पाँच अर्ब ७३ करोड, हिमालयन लाइफ अब्बल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

जीवन बीमा कम्पनीको नाफा पाँच अर्ब ७३ करोड, हिमालयन लाइफ अब्बल



काठमाडौं । गत आर्थिक २०८०–८१ मा १४ वटा ठूला जीवन बीमा कम्पनीले पाँच अर्ब ७३ करोड ३३ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा १४ वटा ठूला जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।

हिमालयन लाइफ गत आवमा जीवन बीमा मध्ये सर्वाधिक नाफा कमाउन सफल कम्पनी बनेको छ । कम्पनीले गत आवको ६३ करोड ३८ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा २१.५९ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनी चौंथो सूचीमा थियो । तर, गत आवमा आइपुग्दा भने व्यापाक छलाङ मारेको छ । अघिल्लो आवमा सर्वाधिक नाफा कमाएको सन नेपाल लाइफको भने २६.५३ प्रतिशत घटेर ५७ करोड ४९ लाख रुपैयाँ कायम भएको छ ।

यद्यपि, गत आवमा रकमको आधारमा दोस्रो पोजिशनमा छ । तर, नाफा वृद्धिदरमा भने सिटिजन, आइएमई सूर्यज्योति र प्रभु महालक्ष्मी लाइफ तगडा देखिएका छन् । गत आवमा सिटिजन लाइफले सर्वाधिक २१६.५६ प्रतिशत नाफा बढाएको छ । अघिल्लो आवमा १० करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, गत आवमा आइपुग्दा भने ३२ करोड ४७ लाख रुपैयाँ कायम भएको छ । गत आवमा सर्वाधिक नाफा बढाउनेको दोस्रो सूचीमा सूर्यज्योति लाइफ छ ।

कम्पनीले १४६.०३ प्रतिशत नाफा बढाएर ३९ करोड ६५ लाख कायम भएको छ। यस्तै ग्रोथका आधारमा तेस्रो पोजिशनमा आइएमई लाइफ छ । आइएमई लाइफले नाफा १४५.०४ प्रतिशत वृद्धि गरि ५१ करोड ४५ लाख ५७ हजार रुपैयाँ कायम गरेको छ । रकमका आधारमा पनि कम्पनी तेस्रो स्थानमा छ ।

यता, प्रभु महालक्ष्मीको लाइफको नाफा पनि १०४.४० प्रतिशत बढेर ३६ करोड ६१ लाख रुपैयाँ पुगेको छ। यस्तै, नेशनल लाइफको नाफा पनि ६०.९२ प्रतिशत, सानिमा रिलायान्सको ५९.९१ प्रतिशत, एशियनको ३६.९१ प्रतिशत, नेपाल लाइफको ३०.८० प्रतिशत बढेको छ ।

प्रकाशित : ३१ श्रावण २०८१, बिहीबार १३:३४