नेपाल पुनर्बीमा कम्पनीले कमायो ५१ करोड ५८ लाख रुपैयाँ नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपाल पुनर्बीमा कम्पनीले कमायो ५१ करोड ५८ लाख रुपैयाँ नाफा



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा घटको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४९ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले ५९ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ८.५७ प्रतिशत बढेको छ भने कुल आम्दानी ९.३० प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ०.९१ प्रतिशत र कुल खर्च ८.७४ प्रतिशत बढेको छ।

१२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा ३ अर्ब ९२ करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा २७ करोड ६३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ८ करोड रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड ८० लाख रुपैयाँ रहेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६३ पैसा घटेर ४ रुपैयाँ ३ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९२.५५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा रहेको छ।

प्रकाशित : २८ श्रावण २०८१, सोमबार १०:५६