यस्ता छन कुलमानले सुनाएका योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

यस्ता छन कुलमानले सुनाएका योजना



काठमाडौं २२ चैत। नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी बर्षामा नेपालले बिजुली निर्यात गर्ने महत्वकांक्षी योजना सार्बजनिक गरेका छन् । यो बर्षको सुख्यायाम सकिएकोले अब लोडसेडिङ नहुने भन्दै उनले आगामी बर्षायाममा बिजुली निर्यात गर्न सकिने अवस्थामा पुग्ने जानकारी दिएका हुन् ।

‘बिजुलीको अत्याधिक माग हुने र उत्पादन कम हुने समय हामीले पार गरिसकेका छौं, अब लोडसेडिङ हुदैन, अर्काे बर्षमा हामीसँग भएको बिजुली निर्यात गर्न सक्ने अबस्थामा हामी पुग्छौं,’ प्राधिकरणमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने ।

माथिल्लो तामाकोशी आयोजना निर्माण सम्पन्न हुन लागेकोले नेपाललाई चाहिने भन्दा बढी विद्युत उत्पादन हुने भन्दै उनले निर्यातको योजना सुनाएका हुन् । यस्तै अन्य आयोजनाबाट पनि बिजुली उत्पादन हुँदा निर्यात गर्न सक्ने अवस्था आउने घिसिङको भनाइ छ ।

भारतबाट महंगो दरमा विद्युत आयात गरिएको भन्ने आरोपको पनि उनले खण्डन गरे । गत बर्ष १४ अर्ब रुपैयाँ बराबरको विद्युत आयात भएकोमा यस बर्ष जम्मा १५ अर्ब रुपैयाँको मात्रै आयात गरिएको र परिमाण भने गत बर्षको भन्दा निकै बढी भएको उनको भनाइ छ ।

गत बर्षको भन्दा यसबर्ष भारतबाट आयातित बिद्युतको अंश घटेको उनले जानकारी दिए ।

‘गत बर्ष कुल विद्युत आपूर्तिको ३५ प्रतिशत हिस्सा भारतबाट आयातित बिद्युतको थियो, यस बर्ष यस्तो हिस्सा जम्मा ३३ प्रतिशत मात्रै छ,’ घिसिङले भने ।

प्राधिकरणले आगामी शुक्रबार मनाउन लागेको विद्युत दिबसको बारेमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

प्रकाशित : २२ चैत्र २०७३, मंगलवार १०:२३