सूर्योदय वोमी लघुवित्तकाे एफपीओ निष्काशन, कति दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सूर्योदय वोमी लघुवित्तकाे एफपीओ निष्काशन, कति दिने आवेदन ?



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि सर्वसाधारणका लागि एफपीओ निष्काशन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँमै ४६ हजार ७३० कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अतिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था बमोजिम कम्पनीले एफपीओ जारी गर्न लागेको हो ।

साविक सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था मर्जरपछि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको रुपमा सञ्चालनमा छ । कम्पनीको एफपीओ खरिदका लागि आगामी साउन ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने साउन १८ गतेसम्म बिक्री लम्बिने छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।

सीआस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयबाट एफपीओ खरिदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो सेयर अनलाईन मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ भने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले एफपीओ निष्कासन प्रयोजनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

प्रकाशित : ४ श्रावण २०८१, शुक्रबार ११:०९