ललितपुरमा प्रथम सहकारी रोजगार मेला आयोजना हुदै, करिब ५ हजारले अवलोकन गर्ने अनुमान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ललितपुरमा प्रथम सहकारी रोजगार मेला आयोजना हुदै, करिब ५ हजारले अवलोकन गर्ने अनुमान



काठमाडौं । राष्ट्रिय सहकारी महासंघले ‘प्रथम सहकारी रोजगार मेला – २०८१’ को आयोजना गर्ने भएको छ । महासंघले ‘मर्यादित सहकारी व्यवसायका लागि यूवा संलग्नता’ भन्ने नाराका साथ असार ७ गतेदेखि ९ गतेसम्म मेलाको आयोजना गर्न लागेको हो ।

महासंघले पत्रकार सम्मेलन गर्दै सहकारी इतिहासमा पहिलो पटक हुन लागेको रोजगार मेलाले सहकारीमा मर्यादित रोजगारीका अवसरहरू प्रवर्द्धन गर्ने जनाएको छ ।

मेलाले रोजगारदाता र रोजगारीको खोजी गर्नेहरूको बीच पुलको काम गर्ने आयोजकको भनाई छ । मेलाले प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्न, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्न तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्ने जनाइएको छ ।

साथै मेलाले स्टार्टअपहरू र साना व्यवसायमार्फत स्वरोजगार गर्न चाहनेहरूको लागि नेटवर्किङको कार्य आयोजकको भनाई छ । सहकारी क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ विभिन्न संघ संस्थाले सञ्चालन गर्ने व्यवसायिक तालिमहरू, शैक्षिक कोर्षहरू र सीप विकास कार्यक्रमहरूको विषयमा जानकारी गराउँदै मानव संशाधन विकासमा समेत मेलाले योगदान गर्ने छ ।

देशभित्रै स्वरोजगारीका अवसरहरू सिर्जना गर्दै आएको सहकारी क्षेत्रका विषयमा युवालाई जानकारी गराई वैदेशिक रोजगारीको प्रवाह कम गरी उद्यमशीलता विकास गर्न समेत टेवा पुग्ने देखिन्छ । मेलाले समयमा नै जागिर सुरक्षित गर्ने र आफ्नो व्यक्तिगत विवरण अनलाइनमार्फत भरी रोजगारीको अवसरको लाभ लिन सकिने भएकाले मेलाप्रति युवाको थप आकर्षण हुने अनुमान गरिएको छ ।

हाल ३१ हजार भन्दा वढी सहकारी संघ÷संस्थामार्फत १ लाख बढीलाई प्रत्यक्ष रोजगारी र लगभग १० लाखलाई स्वरोजगार सिर्जना गर्न सफल रहेको यस क्षेत्रको भिजन २०३० ले परिकल्पना गरेको रोजगारी सिर्जनाको लक्ष्य हासिल गर्न मेलाले महत्वपूर्ण योगदान गर्ने जनाइएको छ ।

तीन दिनसम्म चल्ने उक्त मेलाको उद्घघाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नेछन् । मेला अवधिभर सहकारीका ठूलो रोजगारदाताहरूबाट कार्यपत्र प्रस्तुती, अन्तर्राष्ट्रिय श्रम संगठन ९आइएलओ०का विज्ञद्वारा करियर काउन्सिलिङका सेसनहरू समेत निरन्तर सञ्चालन हुनेछन् ।

निशुल्क प्रवेश गर्न सकिने मेलामा विश्वविद्यालयदेखि विभिन्न कलेजका विद्यार्थीहरू, रोजगारीको खोजीमा रहेका युवाहरू, प्राविधिक जनशक्तिहरू, सहकारीकर्मीहरू गरी करिब ५ हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।

मेलामा अवलोकनकर्ता तथा रोजगारी खोजीमा रहेको युवाहरूका लागि क्युआर कोड स्क्यानमार्फत रजिष्ट्रेशन गर्ने व्यवस्था मिलाइएको छ । मेलामा रोजगारदाताका स्टलहरू रहने छन् साथै सहकारीमार्फत उद्यमी बनेकाहरूका उत्पादनलाई समेत मेलामा स्थान दिइने जनाइएको छ ।

मेलाले युवाहरूका लागि मर्यादित प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना गर्ने आयोजकको भनाई छ ।

प्रकाशित : ५ असार २०८१, बुधबार १६:२१