बजेटले सहकारीमा आशा ल्याएको छ: सहकारी महासंघ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बजेटले सहकारीमा आशा ल्याएको छ: सहकारी महासंघ



काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले बजेटले सहकारीमा आशा ल्याएको बताएको छ । बुधवार महासंघकी अध्यक्ष ओमदेवी मल्लले विज्ञप्ति जारी गर्दै बजेटले देशभरका सहकारीले भोग्दै आएका दीर्घकालीन समस्यालाई सम्बोधन गर्ने बताएकी हुन् ।

मंगलबार सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट सार्वजनिक गरेको थियो । उक्त बजेटले देशभरका सहकारीले भोग्दै आएका दीर्घकालीन समस्यालाई सम्बोधन गर्ने राष्ट्रिय सहकारी महासंघको निष्कर्ष रहेको जनाएको छ ।

साना बचतकर्ताको रकम फिर्ता गर्न सहयोग गर्ने, सहकारीको एकीकरणलाई प्रोत्साहन गर्ने र प्रभावकारी नियमन सुनिश्चित गर्ने विषयहरू बजेटमा समावेश गरिएको छ । वर्ष कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, बचत तथा ऋण सुरक्षण कोष तथा सहकारी प्रवर्द्धन कोषको परिचालन जस्ता विषयहरू चाडै कार्यान्वयनमा आउनु पर्ने महासंघलले माग गरेको छ ।

बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूको निरीक्षण गर्न छुट्टै नियामक निकायको स्थापना गर्ने, सहकारीलाई कानुनी सिद्धान्तहरू र नीतिहरू अनुसार सञ्चालन हुने सुनिश्चित गर्ने विषयलाई बजेटले सम्बोधन गरेको छ । ‘उल्लेखित विषयहरुको सफल कार्यान्वयन सुनिश्चित गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग मिलेर काम गर्न महासंघ तत्पर छ । बजेटले सहकारी क्षेत्रलाई उल्लेखनीय रूपमा सुदृढ पार्ने, गरिबी निवारणमा योगदान पुर्‍याउने र दिगो आर्थिक वृद्धिलाई टेवा पुर्‍याउने हाम्रो विश्वास छ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : १६ जेष्ठ २०८१, बुधबार १२:५७