भियतनाका क्षेत्रिय कार्यशालामा नेपालबाट तीन जनाको सहभागिता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भियतनाका क्षेत्रिय कार्यशालामा नेपालबाट तीन जनाको सहभागिता



काठमाडौं । भियतनामा हुने अन्तर्राष्ट्रिय सहकारी महासंघ क्षेत्रिय कार्यशालामा सहभागि हुने सहकारीकर्मीको टोलीलाई राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष ओमदेवी मल्लले एक कार्यक्रमकाबिच आइतबार विदाई गरेकी छन् ।

महासंघले सो कार्यशालामा नेपालबाट तीन जनाको प्रतिनिधित्व गराएको छ । आईसीए एसिया–प्यासिफिक कमिटी फर कन्ज्युमर कोअपरेसन र आईसीए एसिया–प्यासिफिक कमिटी ऑन ट्रेड एन्ड विजनेको सहकार्यमा साइगोन कोअपरेटिभ भियतनामले सो कार्यशालाको आयोजना गरेको हो ।

कार्यशाला २० देखि २४ मेसम्म हुचिनमिमा हुनेछ । सहकारी–सहकारीबिच सहकार्य भन्ने थिममा हुन लागेको कार्यशालामा ९ वटा देशका सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्देश्य विभिन्न देशहरूमा सहकारीहरू बीचको सहकार्यलाई अभिवृद्धि गर्ने, उनीहरूको सामूहिक प्रभावलाई बलियो बनाउन व्यापार र उपभोक्ता सञ्जालहरूलाई बढावा दिने रहेको महासंघका अध्यक्ष मल्लले बताइन् । नेपालको तर्फबाट राष्ट्रिय सहकारी महासंघका संचालक परितोष पौडेल; महासंघका नायव महाप्रबन्धक सुरेश थापा तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङका अध्यक्ष प्रेमप्रकाश कोइरेला सहभागि हुनेछन् ।

अध्यक्ष मल्लले अन्तर्राष्ट्रियले नै विश्वकै सहकारी अभियानमा नेपाल सक्रिय रहेको स्वीकारेको बताउँदै नेपालमा सहकारी व्यवसायलाई अगाडि बढाउन आफ्नो अन्तरदृष्टि प्रयोग गरी कार्यशालामा नेपालको सहभागितालाई सार्थक बनाउन सहभागीहरूलाई आग्रह गरिन् ।

भियतनामले सहकारीमार्फत आफ्नो अर्थतन्त्र, उद्योग तथा उत्पादनको क्षेत्रलाई अगाडि बढाएकोले नेपालको सहकारी अभियानलाई उत्पानदतर्फ केन्द्रीत गर्नका लागि समेत यो कार्यशाला फलदायी हुने विश्वास गरिएको छ ।

बरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले नेपालको सहकारीले कसरी अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गरी आफ्नो व्यवसाय सञ्चालनलाई अभिवृद्धि गर्न सकिन्छ भन्ने बारे बहुमूल्य ज्ञान सङ्कलन गर्न प्रतिनिधिहरुलाई प्रोत्साहित गर्नुभयो । विदाई कार्यक्रममा महासंघका उपाध्यक्ष डिवि बस्नेत, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, महासंघका संचालक छत्र रिमालसमेत उपस्थित थिए । महासंघका निमिक्त महाप्रबन्धक बाबुल खनालले कार्यक्रम र यसको उद्देश्यका बारेमा जानकारी गराए ।

यो कार्यशाला विश्वव्यापी रूपमा सहकारी व्यापार सञ्जाललाई सुदृढ पार्ने लक्ष्यका साथ सहकारीहरू बीच उत्कृष्ट अभ्यासहरू साझेदारी गर्ने एक महत्वपूर्ण प्लेटफर्म रहेको छ । कार्यशालामा नेपालले आफ्नो क्रन्ट्रि प्रेपरसमेत प्रस्तुत गर्ने छ ।

प्रकाशित : ६ जेष्ठ २०८१, आईतवार १६:५३