चार्टर्ड एकाउन्टेन्टकै कारण मुलुकमा हुने आर्थिक क्रियाकलापमा पारदर्शीता कायम गर्न सहयोग पुगेको छः राष्ट्रपति पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थतन्त्र

चार्टर्ड एकाउन्टेन्टकै कारण मुलुकमा हुने आर्थिक क्रियाकलापमा पारदर्शीता कायम गर्न सहयोग पुगेको छः राष्ट्रपति पौडेल

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लेखा परीक्षक तथा लेखा व्यवसायी (चार्टर्ड एकाउन्टेन्ट)कै कारण मुलुकमा हुने आर्थिक क्रियाकलापमा पारदर्शीता कायम गर्न सहयोग पुगेको बताएका छन् ।

नेपाली चार्टर्ड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान)ले पछिल्लो आर्थिक सङ्कटको समाधानका विषयमा बहस गर्न बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालमा हुने आर्थिक क्रियाकलाप र बिभिन्न निकायहरुलाई पारदर्शी र जवाफदेही बनाउन थप दक्ष चार्टर्ड एकाउन्टेन्टको आवश्यकता र महत्व रहेको उनले बताए ।

‘कुनै पनि देशमा हेरिने भनेको आम्दानी र खर्च प्रणालीको पारदर्शीता हो । सोहीअनुसार नेपालको राजश्व परिचालन र खर्च तथा बिभिन्न निकायले गर्ने आम्दानी र खर्चलाई पारदर्शी र विश्वासिलो बनाउन लेखा व्यवसायीहरुको महत्वपूर्ण योगदान छ,’ उनले भने, ‘राजश्व छलीको नियन्त्रण यहाँहरुबाटै सम्भव छ । कुनै पनि क्षेत्रमा हुन सक्ने साना तथा ठुला आर्थिक चुहावट रोक्न पनि लेखा व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुन्छ । तसर्थ, लेखा व्यवसायीहरुलाई सहीलाई सही र गलतलाई गलत भनेर काम गर्न आग्रह गर्दछु ।’ लेखा व्यवसायीहरुले न्यायोचित ढंगले काम गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी शाहले चार्टर्ड एकाउन्टेन्टहरुको समस्या समाधान गर्न सरकार सकरात्मक रहेको बताइन् । पछिल्लो समय चार्टर्ड एकाउन्टेन्टहरु आफ्नो पेशाबाट पलायन हुने समस्या देखिएको छ । सोही कुरालाई दृष्टिगत गर्दै उनले उक्त समस्या समाधान सहयोग गर्ने बताइन् ।

यस्तै, उनले चैते धान, सुन्तला जस्ता बाली तथा फलफुलमा नेपाललाई आत्मनिर्भर बनाउने गरि अघि बढ्नुपर्ने बताइन् । यसैगरि कृषि क्षेत्रमा १५ बर्षसम्मको सहुलियत ऋण दिन सकेमा कृषि क्षेत्रमा नयाँ क्रान्ति आउने उनको भनाइ छ ।

आज दिनभर हुने कार्यक्रमलाई ‘क्राइसिस टु राइज, अनलकिङ इकोनोमिक पोटेन्सियल इन डिस्गाइस’ विषय दिइएको छ । कार्यक्रममा बिभिन्न शत्रमा विद्यमान आर्थिक संकट र त्यसका समाधान विषयमा बहस हुने एक्यानले जनाएको छ ।

प्रकाशित : २७ बैशाख २०८१, बिहिबार १२:५८ 9 May, 2024 12:58 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।