एनएमबि बैंकद्वारा लैङ्गिक समता र सामाजिक समावेशीकरण योजना घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंकद्वारा लैङ्गिक समता र सामाजिक समावेशीकरण योजना घोषणा



काठमाडौँ । एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवर्धन गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण (जीईएसआई) योजना सार्वजनिक गरेको छ ।

सार्वजनिक गरेको नीतिले समाजमा विविधता प्रवर्धन, सीमान्तकृत समुदायलाई सशक्तीकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोत्साहन गरेको बैंकले जनाइएको छ।

जीईएसआईले समग्र बैंकिङ प्रणालीलगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्दै पहुँचयोग्य, समावेशी र उत्तरदायी बैंकिङ वातावरण सिर्जना गर्न मद्दत पुर्‍याउने विषयमा बैंक विश्वस्त रहेको जनाइएको छ ।

बैंकले लैङ्गिक समता र सामाजिक समावेशीकरण जीईएसआई योजना कार्यान्वयन गर्दै महाराजगञ्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगन्जस्थित शाखाहरूमा फरक ढङ्गले सक्षम ग्राहकलाई ह्विललचेर र्‍याम्प स्थापना गरेको छ । साथै, महिला नेतृत्व विकास गर्न देशभरि महिला नेतृत्व कार्यक्रमसमेत सुरुवात गरिसकेको जनाएको छ ।

महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधा सहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको जनाएको छ । एनएमबि बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेको छ । बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबि बचत खाता, पाथीभरा बचत खाता लगायतका प्रदेश केन्द्रित बचत खाताहरू चल्तीमा ल्याइसकेको छ ।

बैंकले हाल देशभर २०१ शाखा, १८३ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २७ फाल्गुन २०८०, आईतवार ११:२४