समस्याग्रस्त तीन सहकारीलाई समितिले जारी गर्‍याे ६ बुँदे निर्देशन, बचतकर्तालाई ३५ दिनभित्र माग दाबी गर्न आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

समस्याग्रस्त तीन सहकारीलाई समितिले जारी गर्‍याे ६ बुँदे निर्देशन, बचतकर्तालाई ३५ दिनभित्र माग दाबी गर्न आह्वान



काठमाडौं । समस्याग्रस्त घोषित भएका सहकारीका सदस्य बचतकर्तालाई आफुले पाउनुपर्ने रकमको दाबी गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आह्वान गरेकाे छ। बुधबार समितिले सूचना जारी गर्दै समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको बचत रकम माग दाबी गर्न बचतकर्तालाई आह्वान गरेको हो ।

समितिले सूचनामा आफुले पाउनुपर्ने रकमको दाबी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनलाइन मार्फत माग दाबी आवेदन भरी सप्रमाण पेश गर्न भनेको छ ।

साथै, यी समस्याग्रस्त तीन सहकारीलाई लक्षित गर्दै व्यवस्थापन समितिले छ बुँदे निर्देशन पनि जारी गरेको छ ।

समितिले सहकारीका सञ्चालक तथा कर्मचारीले सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्पत्तिहरु समिति समक्ष बुझाई कार्यालय बन्द गर्नुको साथै कुनै पनि कारोवार नगर्न नगराउन भनेको छ । सञ्चालक र कर्मचारीले यस समिति समक्ष उपस्थित भइ आवश्यक सहयोग गर्न भनेको छ ।

ऋणी सदस्यहरुले समितिमा सम्पर्क राखी ऋण भुक्तानी गर्न तथा साविक सञ्चालक/कर्मचारीसँग भुक्तानी सम्बन्धी कारोबार नगर्नु भनेको छ ।

बचतकर्ताहरुले बचतसँग सम्बन्धित सम्पूर्ण प्रमाणहरु सुरक्षित राखी समितिबाट मागदावी निवेदन आवेदनको सूचना जारी भएपछी समितिसमक्ष निवेदन पेश गर्न भनेको छ ।

समस्याग्रस्त घोषित संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि समितिको कार्यालयसँग मात्र काम कारवाही गर्न अनुरोध गरेको छ ।

कार्यालयका अनुसार सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विभिन्न मितिको निर्णयबाट समस्याग्रस्त घोषणा भएका सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न यस समितिसमक्ष लेखि आएकोमा सोहि ऐनको दफा १११ ९१० बमोजिम सो सहकारी संस्थाको सञ्चालक समिति, व्यवस्थापन तथा कर्मचारीको अधिकार स्वतः निलम्बन हुने जनाएको छ ।

प्रकाशित : १६ फाल्गुन २०८०, बुधबार १३:४१