बागमती साकोस समिटको तयारी पूरा, २७५ जना सहभागी रहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बागमती साकोस समिटको तयारी पूरा, २७५ जना सहभागी रहने



काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (प्रोस्कुन) ले ‘बागमती साकोस समिट’को तयारी पूरा गरेको छ । भोलिबाट दुई दिनसम्म चल्ने उक्त समिटका लागि सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए।

समिटमा बागमती प्रदेशका १३ वटै जिल्लाका सहकारीका प्रतिनिधिहरु सहभागी रहने उनको भनाई छ । समिटमा २७५ जनाको सहभागिता रहने भएको छ । साकोस समिटमा सहभागिताका लागि रजिष्ट्रेशन उत्साहजनक रहेको अध्यक्ष
सापकोटाले बताए ।

पछिल्लो समयमा धेरै संस्थाको तर्फबाट सहभागिताका लागि माग गरिएको भएपनि व्यवस्थापनको कारणले सबैलाई समेट्न नसकिएको उनले प्रष्ट पारे । समिटको उद्घाटन बागमती प्रदेश पर्यटन, सँस्कृति तथा सहकारी मन्त्री पुकार महर्जनले गर्नेछन् ।

समिटको पहिलो दिन १६ गते बुधबार ‘सहकारी सुदृढिकरणको आधार: सहकार्य, एकता र विश्वास’ शीर्षकमा प्रोस्कुनका सीइओ केशव प्रसाद दहालले, ‘कानुन कार्यन्वयन र अभियान शुद्धिकरणका लागि : सहकारी एकीकरण
र वर्गिकरण’ विषयमा पूर्व सचिव गोपीनाथ मैनालीले, ‘सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण : भावी जोखिम र कार्यन्वयन रणनीति’ शीर्षकमा मुक्तिनाथ सापकोटा, ‘सहकारीमा सदस्य सुरक्षा : जोखिम स्थानान्तरणका लागि बीमा’ विषयमा पोषकराज पौडेलले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी दोश्रो दिन १७ गते बिहीबार ‘ दक्ष जनशक्ति पलायन : सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरणका उपाय’ विषयमा प्राडा अरहन स्थापित, ‘सहकारीको वर्तमान आवश्यकता : साझा अभियानका लागि साझा सञ्जाल’ शीर्षकमा नेफ्स्कुनका सीइओ शिवजी सापकोटा, ‘ प्रभावकारी सेवाका लागि : जनशक्ति उत्पेरणा’ शीर्षकमा डा.तारा गिरी र ‘सहकारी सुशासन प्रर्वद्धनमा : प्रविधिमैत्री कारोबार’ शीर्षकमा सिनर्जी टेकका सीइओ देवेन्द्र खड्काले कार्यपत्र पेश गर्नेछन् ।

साकोस समिटको बागमती प्रदेश भित्रका १३ वटा जिल्ला बचत संघ सह–आयोजकको रुपमा रहेका छन् भने बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी विकास बोर्ड र नेफ्स्कूनको सहकार्यमा समिट हुन लागेको हो।

प्रकाशित : १५ फाल्गुन २०८०, मंगलवार १८:२६