तीन विकास बैंक र तीन फाइनान्स कम्पनीका अध्यक्ष सञ्चालक तथा सिईओ परे राष्ट्र बैंककाे कारबाहीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

तीन विकास बैंक र तीन फाइनान्स कम्पनीका अध्यक्ष सञ्चालक तथा सिईओ परे राष्ट्र बैंककाे कारबाहीमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र तीन फाइनान्स कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सिईओ) तथा अध्यक्षलाई कारबाही गरेको छ ।

केन्द्रीय बैंकले मुक्तिनाथ विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र फाइनान्स तर्फका प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकि एण्ड फाइनान्सका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कारवाही गरेको जनाएको छ ।

राष्ट्र बैंकले केही अधिकारीलाई सचेत गराएको छ भने केहीलाई नगदसहित कारबाही गरेको छ । राष्ट्र बैंकले मुक्तिनाथ डेभलपमेन्ट बैंकले ग्राहक संरक्षण कोषको रकम दुरुपयोग गरेको भन्दै सञ्चालक समितिका अध्यक्ष र सिईओलाई सचेत गराएको छ ।

यस्तै स्वतन्त्र सञ्चालकको कार्यकाल सकिँदा पनि बैंकमा उपस्थिति गराइ निर्णय प्रक्रियामा सहभागी गराइएको र दोस्रो कार्यकालका लागि पनि नियुक्ति गरिएको भन्दै सचेत गराएको छ । साथै उक्त सञ्चालकलाई तत्काल हटाउन पनि निर्देशन दिएको छ । यस्तै, यही बैंकले आधारदरलाई आफ्नो तजविजमा महिनामै पटक पटक परिवर्तन गरेको भन्दै सिईओलाई पनि सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।

नारायाणी डेभलपमेन्ट बैंकलाई पनि अनिवार्य नगद मौज्दात तीनपटक सम्म कायम नगरेका भन्दै १२ हजार नगद जरिवाना केन्द्रीय बैंकले गरेको छ । यस्तै, सिडि रेसियो पनि सिमा भन्दा बढी राखेको भन्दै २ लाख ४१ हजार ९२४ रुपैयाँ जरिवाना गरेको छ ।

त्यस्तै सप्तकोशि डेभलपमेन्ट बैंकको सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको पहिलो कार्यकाल समाप्त भएपश्चात् समेत स्वतन्त्र सञ्चालककै हैसियतमा समितिको बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागी गराएको भन्दै कारबाही गरेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १५ को उपदफा (१) मा भएको व्यवस्था विपरित दोस्रो कार्यकालका लागि समेत स्वतन्त्र सञ्चालकको रुपमा पुनः नियुक्त गरेको पाईएकोले अब उप्रान्त त्यस किसिमको कार्य नगर्न संस्थाको सञ्चालक समितिलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

उक्त कानुनी व्यवस्थासम्मत नहुने गरी दोस्रो कार्यकालका लागि नियुक्त स्वतन्त्र सञ्चालकलाई तत्काल हटाई जानकारी गराउन नेपाल राष्ट्र बैंकले आदेश दिइएको जनाएको छ ।

यस्तै बैंकको स्थलगत निरीक्षणको क्रममा राष्ट्र बैंकले जारी गरेको आधार दर गणना सम्बन्धी कार्यविधि, २०६९ बमोजिम गणना गर्नुपर्ने कर्जाको आधार दरलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतले निर्देशन विपरित आफ्नो तजविजले एकै महिनामा पटक पटक कोर बैंकिङ सिस्टममा गई आधार दर परिवर्तन गरेको पाइएको छ । कर्जाको आधार दर सम्बन्धी राष्ट्र बैंकमा पेश हुँदै आएको विवरण समेत यथार्थ नभएको पाइएकाले संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराई त्यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दिइएको जनाइएको छ ।

यता प्रोग्रेसिभ फाइनान्स कम्पनी र गुडविल फाइनान्स कम्पनीले पनि महर्जन विजनेश एशोसियट प्रालिलाइ धितो जोखिम हुने गरी कर्जा प्रवाह गरेको भन्दै सो फाइनान्सका सञ्चालक समिति र सिईओलाई नसिहत दिइएको छ । यस्तै गुहेश्वरी मर्चेन्ट बैंकि एण्ड फाइनान्सका सिईओलाई तोकिएको सिमा भन्दा बढी सेयर लगानी बिक्रि गरी नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।

प्रकाशित : २ फाल्गुन २०८०, बुधबार १४:०४